२० मंसीर, धादिङ ।
नेकपा एमालेले मंसीर १० गते चितवनको नारायणी किनारमा १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सहित सौराहामा गएर भव्य रुपमा महाधिवेशन सम्पन्न गर्यो । उक्त महाधिवेशनले आगामी ५ वर्षको लागि पुन : केपी शर्मा वलीको नेतृत्वमा पार्टीको केद्रिय टीम निर्वाचित गरिसकेको छ । तर पार्टीको निर्णय अनुसार पार्टीको १० औं राष्ट्रिय महाधिवेशन पुर्व सम्पन्न गरिसक्नु पर्ने धादिङको ज्वालामुखी गाउँपालिकाको अधिवेशन भने अझै सम्पन्न हुन सकेको छैन । धादिङका १३ वटा स्थानीयतहहरु मध्ये १२ वटा स्थानीय तहहरुको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट निर्वाचित नेकपा एमालेका नयाँ नेतृत्व सहितको टीमले पार्टीका आफ्ना गतिविधिहरु अघि बढाईरहेका छन् । तर ज्वालामुखी गाउँपालिकामा भने आजको मिति सम्म अधिवेशन सम्पन्न हुन सकेको छैन । गत कार्तिक ९ गते उद्घाटन सत्र सम्पन्न गरेर बन्द सत्र नै आरम्भ नगरिकन अधिवेशन रोकिएको हो । उक्त दिन हुन नसकेको बन्द सत्र गत कार्तिक १७ गतेको लागि आह्वान गरिएको भए पनि अन्तिम समयमा आएर अनिश्चित समयको लागि भन्दै स्थगित गरिएको थियो ।


पार्टीमा पालिका अध्यक्षको लागि एक भन्दा बढिले व्यक्तिगत इच्छा व्यक्त गरेको र सबै नेताहरुलाइ व्यवस्थापन गर्नको लागि केहि प्राविधिक समस्या भएको कारण अधिवेशन रोकिएको नेकपा एमालेले जनाएको छ । साथै सहमतिको साथ सकेसम्म यहि महिनाको अन्तिम सम्म वा पुसको पहिलो हप्ता नयाँ नेतृत्व छनौट सहित अधिवेशन सम्पन्न गर्ने हिसाबले सल्लाह र छलफल भईरहेको नेकपा एमाले धादिङले जनाएको छ । नेकपा एमाले ज्वालामुखी गाउँपालिका संगठन कमिटीका संयोजक हरिराम लोहनिको अध्यक्षता र नेकपा एमालेका केन्द्रिय सदस्य तथा संघिय निर्वाचन क्षेत्र नम्बर २ का सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।