
१३ फागुन, धादिङ
बागमती प्रदेश स्तरीय पुरुष डबल्स ब्याडमिण्टन प्रतियोगिता–२०७८ को उपाधी धादिङका राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरी दाजुभाइको टिमले जितेको छ । राम–लक्ष्मणले मकवानपुरलाई हराउँदै फाईनल प्रवेश गरेको यी दाजुभाईको जोडीले फाईनलमा चितवनलाई हराउँदै उपाधी जितेको हो । धादिङले पहिलो सेटमा २१–१८, दोस्रोमा २१–२३ र तेस्रो सेटमा २१–१४ ले जितेको हो । यससँगै प्रतियोगीतामा चितवन दोस्रो र सिन्धुपाल्चोक तेस्रो भएको छ । विजेताहरुलाइ शनिबार एक कार्यक्रमको बीच पुरस्कार वितरण गर्ने नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य सगुन थापा मगरले जानकारी दिनुभयो । प्रथम पुरस्कार रु.३० हजार, द्धितिय पुरस्कार रु.२० हजार र तृतीय पुरस्कार रु.१० हजार सहित शिल्ड, मेडल र प्रमाण – पत्र प्रदान गरिनेछ ।


नेकपा (एमाले) निकट नेपाल खुदकुद महासंघ बागमती प्रदेश कमिटीको आयोजनामा सम्पन्न प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगितामा बागमती प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुर बाहेक १० वटा जिल्लाको सहभागीता रहेको थियो । यी दुईभाइ राम–लक्ष्मणको जोडिले यहि फागुन ९ गते तनहुँको दमौलीमा सम्पन्न व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिताको पनि उपाधी जितेको थियो । धादिङ जिल्लाको तर्फबाट यस प्रतियोगिताको सम्पुर्ण व्यवस्थापन महासंघका केन्द्रिय सदस्य सगुन थापा मगरले गरेको थियो ।