
धादिङमा रासायनिक मल अभाव हुदा किसानहरु मर्कामा परेका छन् । यति खेर मकै र धान बालीमा मल हाल्ने बेला भएको छ । तर बजारमा मल छैन । धादिङको नीलकण्ठ नगरपालिका १२ की शुसिला कुमालले करिव १० रोपनी जग्गामा मकै खेती गर्नुभएको छ । मल लिन गाउँबाट एक दिन विराइ बजार झर्ने गरेको उहाँ बताउनुहुन्छ । मकैले सुत्ला च्याप्ने बेला भयो । तर बजारमा युरिया मल छैन । उहाँले भन्नुभयो– ‘मल नहालि खेती हुदैन । मल आउला र हालेर गोडमेल गरौंला भन्दा भन्दै वितिसक्यो । हामी त कृषि मै आश्रित छौं । उत्पादन घट्ने चिन्ताले पिरोलेको छ ।’ उहाँले भन्नुभयो ।

मकै खेती गर्ने किसान मात्र होइन । चैते धान खेती गरेका किसानहरु पनि मल अभावले पिरोल्लिएका छन् । नीलकण्ठ ३ की संगिता श्रेष्ठ कहिले फोन त कहिले आफै मल विक्रि गर्ने नीलकण्ठ सहकारी संस्था लिमिटेडमा पुग्नुहुन्छ । तर मलको पर्खाइमा रहेकी उहाँले एक गेडो मल नपाएको गुनासो गर्छिन् । हरेक वर्ष मल अभाव हुन्छ । जहिले गएपनि मल छैन मात्र भन्छन् । उहाँले भन्नुभयो– ‘कृषि प्रधान देश भन्छ । समयमा न विउ पाइन्छ, न मल । किसानहरु जिउँदै मारिएको छ । मकै बुढ्यो, धान बाला लाग्ने बेला भैसक्यो । तर मल नहुदा हामी समस्यामा छौं । सरकारले मल र विउ विजन आपूर्तिमा ध्यान नदिने हो भने किसानहरु आफै भोकमरीमा पर्छन् ।’
मल अभावले उत्पादन घट्ने किसानहरु बताउँछन् । मल नपाइने भएपछि नीलकण्ठ नगरपालिका ९ का तुल बहादुर गुरुङले दोहोरो मकै गोडेको बताउनुहुन्छ । मर्नु भन्दा बौलाउनु निको भनेझै मकै गोडमेल गरेँ । उहाँले भन्नुभयो– ‘मल कु¥यो भने मकै गोड्न पाइदैन । न मल न गोडमेल हुन्छ । झन उत्पादन घट्छ । यसपाली आधि उत्पादन घट्छ होला । जेठ भरिमा पनि मल पाइएला जस्तो छैन । पछि हालेर काम छैन । जसरी नि मर्का किसानलाई नै हो ।’
किसानहरुले महंगो रकम तिरेर पनि मल किनेको बताउँछन् । ज्वालामुखी गाउँपालिका ५ धादिङका हरि थापा एक बोरा यूरिया मलको दुइ हजार एक सय परेको बताउनुहुन्छ । मल हेरेर दररेट छ । उहाँले भन्नुभयो– ‘सानो खालको मलको दुइ हजार एक सय । अलि ठूलो खालको मलको दुइ हजार ६ सयको दरले बेचिरहेका छन् । नेपाल सरकारले सहुलियतमा मल ल्याउन सकेन । व्यवसायीहरुले ब्ल्याकमा ल्याएर फाट्टफुट्ट बेचिरहेका छन् । त्यहि पनि हारालुछ छ । अनि व्यवसायीहरुले जति भन्यो किसानले त्यति तिर्न बाध्य छन्’ ।
केहि समय अगाडी बाहिर ब्ल्याकमा प्रतिबोहोरा दुइ हजार आठ सय तिरेर मल किनेको एक जना किसानले बताए । त्यतिखेर मल नपाएर छट्पटाइरहेको थिएँ । बल्लतल्ल पाएँ, तर महंगो प¥यो । तैपनि खुषीले किनेँ । मलमा कालोबजारी भएको उनले बताए । अव महंगो भयो भनौ भने त्यहि त बल्ल बल्ल पाइयो । पैसा भन्दा मल महत्व छ यतिखेर । सरकारले मल दिन सकेन । व्यापारीले महंगो ग¥र्यो भनेर के गर्नु, आखिर किन्नै पर्छ । किसानहरु समस्यामा रहेको उनले बताए ।
यूरिया मलमा व्यवसायीहरुले महंगो मूल्य असुलेकोको किसानहरु बताउँछन् । तर व्यवसायीहरु भने गाडी भाडा र थोरै फाइदा राखेर विक्रि गरेको दावी गर्छन् । एक व्यवसायीले भने अहिले ल्याइएको यूरिया मल सरकारको आयातित माल होइन । भारतबाट चोरी निकासी भएर आउँछ । एक हजार नौ सय ४० रुपियाँजति आफ्नै पर्ने र भाडामा ५/१० रुपियाँ फरक हुन सक्छ । तर हामीले प्रतिबोरा दुइ हजारसम्म विक्रि गर्ने गरेका छौ, उनले भने ।
श्री नीलकण्ठ सहकारी संस्था लिमिटेडले जिल्लाका किसानहरुलाई सहुलियत दरमा मल उपलब्ध गराउदै आएको छ । यस सहकारीले यूरिया मलको प्रतिबोरा एक हजार तिसको दरले विक्रि गर्ने गरेको संस्थाका अध्यक्ष बलराम श्रेष्ठ बताउनुहुन्छ । तर अहिले स्टोरमा मल छैन, स्टोर खाली छ । उहाँले भन्नुभयो– ‘२०७८ माघ देखि यहि जेठ ४ गतेसम्म जम्मा डिएपी ४५ र यूरिया ४० बोरा मल आयात भएको थियो । प्रति किसानलाई १५ केजीको दरले वितरण गर्यौं । किसानको आवश्यकतालाई हेरेर सहज रुपमा वितरण गर्ने हो भने धादिङमा ३० हजार बोरा मल चाहिन्छ । जेठको अन्त्यतिर केहि बोरा मात्र मल आउला । तर किसानले चाहेजति मल पाइदैन ।’
सहज रुपमा किसानलाई मल उपलब्ध गराउने विषयमा जिल्लामा छलफल नभएका होइनन् । तर स्थानीय तहको निर्वाचनका कारण त्यस विषयमा पुनः छलफल नभएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । यूरिया मलमा कालो बजारी भएको भन्ने सुनिएको हो । उहाँले भन्नुभयो– ‘चोरी निकासी, वैधानिक तथा अवैधानिक तरिकाले मल आयात भैरहेका छन् । मूल्यमा तलमाथि गरेका छन् भन्ने पनि सुनियो । विल भर्पाइ गरी कानुन बमोजिम गर्न आदेश दिएको छु । सेवा प्रवाह गर्नु तर गलत हुन भएन भनेको थिएँ । तर चुनावका कारण अपडेट हुन भ्याइएन । अव यस विषयमा छलफल अगाडि बढ्छ ।’ उहाँले भन्नुभयो ।