२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बस्ति स्थानान्तरणको पर्खाइमा बाह्रबिसेका विस्थापितहरु

बस्ति स्थानान्तरणको पर्खाइमा बाह्रबिसेका विस्थापितहरु
सेयर गर्नुहोस्
०सेयर

धादिङको गजुरी गाउँपालिका २ बाह्रविसेकी ३८ वर्षिय सिता तामाङ अस्थायी टहरामा दुःखको दैनिकी विताइरहनुभएको छ । काखमा सानी नानी च्यापेर कहिले बालुवा झिक्न पुग्छिन् त कहिले अरुको घरमा ज्याला मजदुरी गर्न । त्यतिले पनि उहाँको छाक सहजले टरेको छैन र फुर्सदमा गलैचा पनि बुन्छिन् । गएको वर्ष साउन ५ गते पहिरो कारण उनको परिवार र बगाउँलेको लागि नै कालो दिन बन्यो । उहाँ भन्नुहुन्छ – ‘पहिरोले गाउँ नभासिदा कम्तिमा ओतलाग्ने छानो र दुइ छाकको मानो त दुखजेलो चलेको थियो । पहिरोबाट ज्यान जोगाउन गर्भ र काखमा स–साना नानी च्यापेर गाउँ छाडेको हुँ । अहिले दुइ मुठी सास जोगाउन हम्य भएको छ ।’ गहभरी आँसु पार्दै उहाँले सुनाउनुभयो ।
अहिले वर्षातको समय छ । कतिखेर हावाहुरी चल्छ पत्तै हुन्न । सिता भन्नुहुन्छ– ‘पानी प¥यो भल चल्छ । हावाहुरी चल्दा सानी छोरी समाउँ कि ओतलाग्ने जस्ता हुन्छ । पिरै पिरको भारी छ । यो ४ वर्षमा धेरै दिन खाली पेट, अनिदो रात अनि रोएर विताएको छु ।’ काखीको नानी सार्दै विलौला पोख्नुभयो।

अहिले उहाँहरु गाउँपालिकाले व्यवस्था गरिदिएको भाडाको जग्गामा अस्थायी टहरा बनाएर बस्दै आउनुभएको छ । त्यो पनि जग्गा धनिले जग्गा छाडिदिन आग्रह गरेको छ । उहाँ भन्नुहुन्छ– ‘पहिरोले गाउँबाट लखेट्यो । अब यहाँबाट कहाँ जानु । गाउँमा पहिरो यता झनै समस्याको ओइरो । हामी त न घर न घाटको भयौं ।’ लामो सास फेर्दै उहाँले भन्नुभयो ।

६८ वर्षिय धनमायाँ लामाले माथिबाट पहिरिने र तलबाट भाँसिएपछि उहाँले पनि गाउँ छाडेकी हुन् । उहाँ भन्नुहुन्छ– ‘त्यो दिन सम्झदा अहिले पनि जिउँ ढक्क फुलेर आउँछ । कस्सो गाउँ नै बगाएन । चिराफारा भएर बस्नै नहुने भयो । हामी त स्वदेशमै परदेशी बन्यौँ । बस्ति सारिदिन पनि धेरैलाई भन्यौँ । तर ४ वर्ष वित्दा पनि समस्या ज्यूँको त्यूँ छ ।’ उहाँले भन्नुभयो ।

म त मरेर बाँचेको मान्छे । कसैले बाँच्छ भनेकै थिएन । धनमायाँ भन्नुहुन्छ्– ‘हावा हुरी चल्यो, पाल उडाउन लाग्यो भनेर समाउँदै थिएँ, लडेछु । ढाड नै खुस्किएछ, हड्डी भाँचिएपछि छ महिना भन्दा धेरै ओछ्यानमै थलिएँ । औषधि, झारफुक गरेँ । अहिले अलि अलि टाउको र जिउँ चलाउन सक्छु । बस्ति सर्ला कि भन्दा भन्दै यहि टहरामै ज्यान जान्छ जस्तो भयो । म त डाँडापारिको घाम भएँ । तैपनि मर्ने काल आएन बाँच्नलाई यो ताल छ ।’ गहभरी भरिएको आँसु पुछ्दै उनले दुःख पोख्नुभयो । धनमायाँ सुरक्षित ठाउँमा सर्ने दिनको पर्खाइमा हुनुहुन्छ ।

सुनबहादुर तामाङको ६ जनाको परिवार एउटै टेन्टमा बस्छन् । खान, बस्न, सुत्न अनि पकाउन सबै एकै ठाउँमा छ । ओतलाग्ने छानो, जसोतसो टाउको लुकाएका छौं । खान लाउनै समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– आँगनबाट एउटा ढुङ्गा झ¥यो भने पृथ्वी राजमार्गमै पुग्छ । तर हामी बाह्रविसेबासीले पेटभरी खान र इज्जत ढाक्ने एक सरो कपडा पाएका छैनौं । आफ्नो भएको जायजेथा पहिरोले भासिएपछि विस्थापित बन्यौं । न घर रह्यो न जग्गा जमिन । अहिले म डोको डालो बुन्छु । छोराछोरीहरु त्रिशुली किनारमा बालुवा चाल्न पुग्छन् । यसरी नै मुस्किलले दुइ छाकको जोहो भैरहेको छ । सुरक्षित ठाउँ सारिने आश्वासन मात्रै पायौं । तर ढुक्कले बस्ने दिन कहिल्यै आएन ।’ उहाँले भन्नुभयो।

पहिरोका कारण चिराफिरा भएपछि बाह्रबिसेका २१ घरधुरी नै विस्थापित भएका छन् । बस्ती नै पहिरोले भासिएपछि ज्यान बचाउन उनीहरु चेपाङटारी पुगेका हुन् । खानी तथा भू–गर्भ विभागले जोखिम क्षेत्र पहिचान गरेर बस्ति सार्न भनि प्रतिवेदन दिए पनि अझै शुरु हुन सकेको छैन । आधारभूत आवश्यकता समेत पहँुच नभएका उनीहरुको सुरक्षित बस्ति स्थानान्तरण प्रक्रियामै अल्झिएको हो । पहिरोले विस्थापित बनेका बाह्रबिसेबासीलाई सुरक्षित ठाउँमा बस्ति स्थानान्तरण गर्नु आवश्यकता छ ।

बस्ति स्थानान्तरण पनि गर्ने हो र अहिले प्रक्रियामै रहेको धादिङका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका संयोजक कृष्ण प्रसाद लम्सालले बताउनुभयो । बाह्रविसे जस्तै बस्ति स्थानान्तरण गर्नुपर्ने धादिङका धेरै ठाउँहरु छन् । उहाँले भन्नुभयो– ‘धेरै ठाउँका पिडितहरुलाई सुरक्षित ठाउँमा सारिसकेका पनि छौं । आवश्यकता र समस्या हेरेर सुरक्षित ठाउँमा बस्ति स्थानान्तरण गरिरहेका छौं । केहि ठाउँका पिडितलाई सुरक्षित ठाउँमा सार्न बाँकी छ । बाह्रविसेबासीलाई निकट भविष्यमै सुरक्षित ठाउँमा स्थानान्तरण गर्छाैं ।’ उहाँले भन्नुभयो ।

६० वर्षिय हर्कमान तामाङले भुकम्प पछि ऋणपान गरेरै भएपनि घर बनाए । तर कतिपयले सरकारी अनुदान समेत लिन भ्याएनन् । बनेका भौतिक संरचनाहरु पनि बस्न योग्य रहेनन् । तामाङ भन्नुहुन्छ– ‘धेरैको घर भत्कियो । जमिन चिराफारा बन्यो । अहिले हामी अन्यत्रै शरण लिएर बस्न बाध्य छौं । स्थानीय नेतागण, सिडियोदेखि मन्त्रीसम्म सबैले हेर्न आए । तर बस्ति सारिदिने आश्वासन मात्रै बाढे । कि सुरक्षित बस्ति देऊ । कि नेपाली होइन भनेर सिमाना कटाइदेऊ ।’ उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
सुशिला विश्वकर्मा लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।