२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको नीलकण्ठ नगरपालिकाले ल्यायो करिव सवाँ १ अर्व बजेट

धादिङको नीलकण्ठ नगरपालिकाले ल्यायो करिव सवाँ १ अर्व बजेट
सेयर गर्नुहोस्
०सेयर

धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । दोस्रो नगरसभामा उपप्रमुख दिपक विश्वकर्माले चालु खर्चतर्फ ७६ करोड ७९ लाख ६ हजार तथा पुँजिगत खर्चतर्फ ४६ करोड १२ लाख १७ हजार विनियोजन गरेको बताउनुभयो ।

दोस्रो नगरसभाले आगामी आर्थिक वर्षको लागि कृषि, स्थानीय उत्पादन, उद्योग वाणिज्य, संस्कृति तथा पर्यटन, सहकारी, सामाजिक विकास, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, खानेपानी तथा सररफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र लगायतका शिर्षकमा बजेट विनियोजन गरेको हो ।

कृषिमा सीप, प्रविधि र पुँजी सहितको आत्मनिर्भर, किसानका लागि स्थानीय सरकार भन्ने मूल मर्मका साथ ५ करोड २९ लाख बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रलाई यन्त्रीकरण तथा विकास सहित उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याइएको उपमेयर विश्वकर्माले बताउनुभयो ।

त्यस्तै, समग्र उद्योग तथा लघु विकासका लागि १ करोड ४७ लाख, संस्कृति तथा पर्यटन प्रवर्धनका लागि १ करोड ३० लाख, समग्र सहकारी विकास कार्यक्रमका लागि ३० लाख, स्वास्थ्य क्षेत्रमा ७ करोड ६४ लाख, शिक्षा क्षेत्रको समग्र विकासका लागि संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त कार्यक्रममा नगरपालिकाले ५ करोड ५० लाख थप गरी ३९ करोड ४३ लाख विनियोजन गरिएको छ ।

दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि नगरपालिकामा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ । दलित तथा विपन्न बालबालिकाको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न २५ लाख रकम विनियोजन गरेको नगर उपप्रमुख विश्वकर्माले बताउनुभयो ।

त्यस्तै, युवा तथा खेलकुदका लागि २५ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अन्तर्गत वर्ग उत्थानका लागि ५६ लाख, दलित समुदाय उत्थान कार्यक्रमका लागि २६ लाख, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुका लागि २४ लाख विनियोजन गरेको छ ।

पूर्वाधार विकास अन्तर्गत सबै वडाहरुमा कालोपत्रे सडक पु¥याउन ३० करोड ३७ लाख, सडक मर्मत संभार कोष शुरुका लागि ६० लाख, थोपल खोला करिडोरका लागि १ करोड, नवप्रवर्धनान्मक साझेदारी कोष मार्फत २ करोड १५ लाख, नगर चक्रपथ स्तरोन्ति तथा सुदृढीकरणका लागि १ करोड, सडक पुल भवन तथा सिंचाइका लागि २० करोड ९६ लाख, अन्य सरकार तथा संस्थाहरुसँग समपुरक कार्यक्रम सञ्चालनका लागि ४ करोड ६८ लाख, कार्यालयको पूर्वाधार २ करोड समेत पूर्वाधार विकास तर्फ २७ करोड ६४ लाख विनियोजन गरेको उपप्रमुख विश्वकर्माले बताउनुभयो ।

भु तथा जलाधार संरक्षण कार्यक्रम संचालनका लागि ३५ लाख, विपत प्रतिकार्यका लागि ९० लाख, समग्र वन वातावरण तथा विपद व्यवस्थापनका लागि १ करोड ४५ लाख विनियोजन गरेको छ । संस्थागत क्षमता विकासका लागि २५ लाख, पदाधिकारी तथा कर्मचारीको क्षमता विकास कार्यक्रमका लागि १५ लाख, न्यायिक समितिको क्षमता विकास तथा सुदृढीकरण कार्यक्रमका लागि २५ लाख विनियोजन गरेको छ ।

सबै विधामा नीलकण्ठ नगर उत्कृष्ठ बन्छ– मेयर ढुंगाना
नीलकण्ठ नगरपालिकालाई देशकै नमुना पूर्वाधारयुक्त पर्यटकिय शहरको रुपमा विकास गर्ने दीर्घकालिन सोचले अघि बढाइएको मेयर भिमप्रसाद ढुंगानाले बताउनुभयो । नीलकण्ठ नगरपालिकाकोे आर्थिक वर्ष २०७९÷०८० को लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै मेयर ढुङ्गानाले यस्तो बताउनुएको हो ।

एउटा विधामा उत्कृष्ठ भएर पुग्दैन सबै विधामा नीलकण्ठ नगर उत्कृष्ठ बनाउने उद्देश्यमा रहेको उहाँले बताउनुभयो । सवै वडाहरुमा कालोपत्रे गर्ने, एक वडा एक गौरवको योजना सञ्चालन गर्ने, फोहोर व्यवस्थाप गर्ने, ४६ करोडको खानेपानी आयोजना पुरा गरी तिर्खामुक्त नगर बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर ढुंगानाले भन्नुभयो ।

त्यस्तै, स्थानीय सञ्चार माध्यमलाई उत्पादन तथा प्रशारण प्रकाशन प्रवद्र्धन गर्ने र नगर क्षेत्रबाट प्रकाशित सञ्चार माध्यमलाई विशेष साझेदारी अनुदानको व्यवस्था गर्ने मेयर ढुंगानाले बताउनुभयो । पत्रकारलाई लेखनवृत्ति तथा पुरस्कार र आवश्यकता अनुसार सहयोग गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कला संस्कृति र ललितकलाको प्रवद्र्धन, विपद व्यवस्थापनमा नमुना नगर, सुशासन र भ्रष्टचारमुक्त नगर, नगर विकासका लागि स्थानीय श्रोत, ज्ञान, सिपको प्रयोग, नगरबासीलाई क्षमता अभिवृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानी, लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

नगरपालिकाले आगामी वर्ष भित्रैमा वालविकास मैत्री नगर घोषणा गर्ने, नागरिकको जीवन रक्षात्मक कार्यहरुमा जोड दिने, कृषिमा व्यवसायीकरण, औद्योगीकरण गर्न सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा जोड दिने, होमस्टे सञ्चालन गर्ने, आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बनाउनुका साथै स्थानीय उत्पादनको प्रयोग तथा अर्गानिक उत्पादनमा जोड दिने जस्ता विषयहरुलाई विशेष प्राथमिकतामा राखिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।