१८ असार, २०७९
धादिङ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विहिबार र शुक्रबार काठमाडौंमा आफू निकट नेताहरुको भेला सम्पन्न गरेको थियो । भेलाले पार्टी सभापति शेरबहादुर देउवाले सिङ्गो पार्टीको नभई कुनै गुटको सभापति जस्तो व्यवहार गरेको र आफ्नो समूहलाइ अपमान गरेको निश्कर्ष निकालेको छ । पार्टीका धेरै नेता कार्यकर्ताहरुलाइ न्याय नभएको बताएका छन् । भेलाले सभापति शेरबहादुर देउवालाइ लगाएको आरोपहरुमा पार्टीको विधान उल्लंघन गरेको, तथा बलमिचाइ गरि विधानको अवज्ञा गरेको, पार्टीको जनसंगठनहरु एकलौटी बनाएको, बनाएका संगठनहरुलाइ पूर्णता नदिएको, पार्टी पदाधिकारीहरूको सल्लाह सुझावहरु नमानेको, पार्टीको महाधिवेशन भएको तीन महिनाभित्र पदाधिकारी नियुक्त गरिनुपर्नेमा नगरेको, ६ महिनाभित्र विभिन्न विभागहरू गठन भइसक्नुपर्ने नभएको र कार्यकाल सकिएका जन संगठनको म्याद नथपिएको जस्ता आरोपहरु देउवामाथी लगाएको छ । साथै देउवाले नेपाल विद्यार्थी संघ, तरूण दल, आदिवासी जनजाति संघ र किसान संघको अध्यक्ष आफुखुशी चयन गरेकोमा कोइराला पक्षको गुनासो छ ।

देउवा इतर समूका सहमहामन्त्री जीवन परियारले पार्टी सभापति पार्टी निति, विधि र पद्धती विपरित चलिरहेको, गठबन्धनको सभापती जस्तो भएको र गठबन्धन टिकाउने खेलमा मात्रै लागेको आरोप लगाएका छन् । त्यसकारण अब आफुहरु चुप लागेर नबस्ने र रचनात्क पार्टी गतिविधि देशैभर संचालन गर्ने बताएका छन् । त्यसकै एउटा रुप विहिबार र शुक्रबारको भेलाइ लिनुपर्ने बताएको छ । साथै प्रधानमन्त्री शेरबहादुर देउवाले राम्रोसँग सरकार पनि संचालन गर्न नसकेको र प्रधानमन्त्री भएको समय बाचा गरेका सार्वजनिक प्रतिवद्धताहरु पुरा नगरेको पनि आरोप लगाएका छन् ।

यता पार्टी प्रवक्ता एवं सभापति शेरबहादुर देउवा पक्षका नेता प्रकाशशरण महतले शेखर कोइराला पक्षको भेलालाई सामान्य रूपमा लिएको छ । प्रवक्ता महतले केहि साथीहरू आफ्नो हिसाबले सरसल्लाह गरिरहेको बताएको छ । साथै आगामी केन्द्रीय समितिको बैठकका विषयबारे छलफल गरेको बताएको छ । छलफल, सल्लाह जे जहाँ भए पनि निर्णय विधान र विधिपूर्वक हुने बताएको छ । यता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको आगामी बैठकलगत्तै थाती रहेका कामको सम्पादन गर्ने कुरालाई गति दिने बताएका छन् । नेपाली कांग्रेसले यहि असार २७ गते केन्द्रिय कार्यसमितिको बैठक आह्वान गरेको छ । नेपाली कांग्रेसको १४ औ महाधिवेशन २०७८ सालको मंसिरमा काठमाडौंमा सम्पन्न भएको थियो ।

Facebook Comments