२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज संविधान दिवस, सरकारले ९ सय ९८ जनालाई विभूषण दिँदै

आज संविधान दिवस, सरकारले ९ सय ९८ जनालाई विभूषण दिँदै
सेयर गर्नुहोस्
०सेयर

आज संविधान दिवस, नेपालमा नयाँ संविधान कार्यान्वयनमा आएको ७ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ मा नयाँ संविधान लागु भएदेखि सरकारले हरेक वर्ष असोज ३ मा संविधान दिवस मनाउँदै आएको छ ।

नागरिकलाई लोकतन्त्र, गणतन्त्रको अनुभूत र अधिकार सम्पन्न गराउने उद्देश्यले २०७२ असोज ३ मा नयाँ संविधान जारी गरिएको थियो । नयाँ संविधान लागु भएसँगै मुलुक सङ्घीयतामा गएको हो । तर, संविधान कार्यान्वयनमा आएको ७ वर्षमा पनि सर्वस्वीकार्य हुन सकेको छैन । मधेशवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका छन् । दिवसको अवसरमा आज सरकारले काठमाडौँको टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ ।

आज ९ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदक दिइँदै
संविधान दिवसको अवसरमा आज ९ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलेसरकारले सार्वजनिक गरेको नामावली अनुसार यस पटक ‘नेपाल रत्न’ स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने भएको छ ।‘राष्ट्र गौरव’ स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीलेसंविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सुत्रमा आबद्ध गरेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गर्नुभयो ।उहाँले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सुत्रमा आबद्ध गरेको पनि उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान पालनामा केही चुनौती देखिएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना दिँदै उहाँले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त भएको समेत उल्लेख गर्नुभयो । उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षका रुपमा रहेका आउँदो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई उत्सवका रूपमा लिएर सहभागिता जनाउन सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना दिँदै उहाँले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत दलका शीर्ष नेताहरूले पनि संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।