आजभन्दा करिब २११ वर्ष पहिले स्थापित यस मन्दिर जिल्लाको सदरमुकाम धादिङबेँसीबाट करिब दुई घण्टाको पैदलयात्रा अथवा सवाघण्टाको बसयात्रापछि करिब ३० मिनेटको पैदलयात्रा वा साना सवारी साधनमा मन्दिरको पाउसम्म नै पुग्न सकिन्छ ।

जलमुखीमाइ वडा नं ६

जलमुखीमाइ वडा नं ६

विश्वकर्माहरूको सुन्दर बस्तीबाट बायाँ लागेपछि मन्दिरको फेदीमा रहेको गाउँ मुरलीभञ्ज्याङ गाविसको वडा नं. ९ मा पुगिन्छ, यस गाउँलाई काफलपानी भनिन्छ । रसिक, हँसिला गुरुङहरूको बस्ती भएको यस गाउँबाट माथि चढेपछि मात्र जलमुखी मन्दिरमा पुग्न सकिन्छ । मन्दिर उक्लिनुअघि एउटा सानो मन्दिर हाम्रो आँखामा पर्दछ र यसलाई गोलादेवी भनिन्छ । गोलादेवी एउटा ठूलो गोलाकार शिला हो । कुनैबेला यो शिला उचाल्दा गानोगोला कम हुने तथा धर्म मिल्ने कुरा गरिन्थ्यो र मानिसहरू यसलाई उचाल्ने प्रयास गर्दथे । कसैले उचालिरहेको दृश्य बालककालमा यस लेखकले पनि देखेको हो ।

ड्रोनबाट खिचिएको काफलपानी गुरुङ गाउँको दृश्य । तस्विर : गौरव श्रेष्ठ

तर, त्यति ठूलो शिला उचाल्दा धेरै जोखिम लिनुपर्दथ्यो । कतिपय मानिसहरूको हातबाट शिला खस्ने र लाग्ने सम्भावना त छँदै थियो त्यसबाहेक शिला खसेर तल पुग्दा त्यहाँ ल्याएर राख्न अझै कठीन हुन्थ्यो । त्यसकारण, आजभोलि त्यस शिलालाई गाडेर राखिएको छ र पूजाआजा मात्र गर्ने गरिएको छ ।

एउटा सिंहको कथा

गोलादेवी मन्दिरलाई पार गरेर सिँढी उक्लिन थालेपछि जलमुखी मन्दिरको परिसरतर्फ लक्ष्य लिइन्छ । उकालो चढ्दा हुने परिश्रम र एवं थकानलाई बिस्तारै नजिकिँदै जाने मनोरम दृश्यहरूले बिर्साउन थाल्दछन् । वसन्त ऋतुको समयमा फूलेका लालीगुराँसहरू, वनाटिकामा उन्मुक्त स्वरले गाइरहेका पन्छीहरूका सुरम्य आवाजहरूसँगै चल्ने सिरसिर बतासमा चारैदिशातिर फर्किएर सुस्ताउनुको मज्जा बेग्लै हुन्छ । मन्दिरको संरक्षण नहुनाको कारण आजभोलि वनविनाश भएको छ, लालीगुराँसहरू अब ठुटाबुठामा परिणत भएका छन् ।

मन्दिरको परिसरमा पुग्नासाथ इँटको गाह्रो र ढुङ्गाको छानो (झिँगटी जिर्णोद्वारको क्रममा विस्थापन भएको) माथि हाँसिरहझैँ देखिने पहेँलो गजुरले मुस्कानसहित स्वागत गरेजस्तो लाग्दछ । मन्दिरतिर फर्केर देवीभक्तिमा लीन भएझैंँ देखिने सिंहको मूर्ति र देवलमा कुँदिएका काठमाडौँका टुँडाल सम्झाउने आकृतिहरूले मन लोभ्याउँछ । हाल विराजमान सिंह सिमेन्टले बनेको हो । यसभन्दा अघि त्यहाँ ढलौटको विशाल सिंह थियो र त्यसलाई लेखकले बाल्यकालमा देखेको पनि थियो । उक्त ढलौटको सिंह कहिले चोरियो ? त्यो सिंह कसले चढाएका थिए होलान् ? लेखकलाई कौतुहलले छोडेन ।



स्थानीय कृष्ण आचार्यको साथ लागेर हाल नित्य पूजा चलाइरहेका लक्ष्मण शाक्यको घर ढकढक्याउन पुगेँ म । उनले सिंह चढाउँदा राखेको ताम्रपत्र देखाए । त्यस ताम्रपत्र पढ्दा जानकारी भयो सिंह चिफ कर्णेल गङ्गाबहादुरले वि.सं. १९८६ सालमा चढाएका रहेछन् । मन्दिरबाट सिंह मात्र चोरिएन, जल स्वर्णमुकुट पनि चोरिएछ । भन्दा र लेख्दा आफैलाई लज्जाबोध हुन्छ सांस्कितक सम्पदा जोगाउने चेतना नभएका हामी कति गँवार ? अनि संरक्षणको जिम्मा लिनुपर्ने हाम्रो सपना कति उदासीन ? धार्मिक सांस्कृतिक सम्पदा जोगाउने प्रयत्न नगर्ने हाम्रो चेतनाबाट फाइदा उठाएका अमूक व्यक्तिले त्यसलाई चोरेर लगे ।

“सायद वि.सं २०३८ सालकै समय हो, करिब पन्ध्र दिनको अन्तरालमा ती दुवै अमूल्य वस्तु चोरिए ।”, पुजारी लक्ष्मण स्मरण गर्दै भन्छन् । ढलौटको सिंह चोरिएर विदीर्ण भएको मन्दिरमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य श्री हरिबहादुर थापाले हालको सिमेन्ट निर्मित सिंह राख्न लगाएका रहेछन् ।

घण्टको कथा

मन्दिरको ऐतिहासिकतालाई प्रतिनिधित्व गरिरहेको एउटा घण्ट थियो जुन ३२ धार्नी १ सेर र ४ तोला वजनको थियो । बिहानको नित्यपूजाको क्रममा पुजारीको आगमन र भक्तजनको आगमनलाई त्यसैले रन्किएर सञ्चार गर्दथ्यो । त्यही घण्ट थियो जसले मन्दिरको निर्माणको इतिहास बताउँथ्यो । त्यसै घण्टको आधारमा लेखकले स्थानीय समुदायका जानकारहरूसँग यस मन्दिरको ऐतिहासिकताका विषयमा कुराकानी गर्ने अवसर पाएको थियो । त्यस घण्ट पनि २०६० सालको कार्तिक महिनामा अपराधीहरूको कर्तुतको सिकार भयो ।

मन्दिरमा शून्यता छाएपछि स्थानीय बासिन्दाहरूले घण्ट हराएको शङ्का गरे । नित्य पूजा गर्न गएका पुजारी घण्ट नदेखेर भावुक भए तर पहिलेजस्तै चोरहरूले कुनै कानुनी कारबाहीको दायराभित्र आउनुपरेन । घण्ट स्थायी रूपले हरायो । स्थानीय वासीहरूले परम्परागत रूपमा चिन्ता व्यक्त गरे । मन्दिर उजाडियो । अचेल सानासाना घण्टहरूमात्र बज्ने गर्छन् जलमुखीमा । अब ३२ धार्नीको घण्टको आवाजले वरिपरिका गाविसहरूसम्म मन्दिरको पलपल सुनाउँदैन ।

जलमुखीदेवीको उत्पत्ति सम्बन्धमा किंवदन्ती

जलमुखी देवीको अस्तित्व कहिलेदेखि आयो भन्ने आधिकारिक प्रमाण छैन । स्थानीय बुढापाकाहरूका भनाइअनुसार आजभन्दा लगभग ४०० वर्ष पहिले (हाल मन्दिर रहेको डाँडाभन्दा पश्चिमतर्फ) चैनपुर गाविस, सुनखानी गाउँका एकजना कामी अरूबेलाजस्तै गरी पानी भर्न कुवामा गएका थिए । बिहान सबेरै पानी भर्न गएका उनले गाग्री कुवामा डुबाएर पानी भर्न प्रयत्न गरे । गाग्री कुनै कडा चट्टानसँग ठोकिन पुग्यो र गाग्रीको मुखले एउटा शिला बाहिर निकाल्यो । उनले त्यस शिलालाई कुवाबाट बाहिर निकाली कुवाको माथितिर फालिदिए र पानी लिएर घरमा गए ।

अर्को बिहान पनि कामी बुढा पानी भर्न गए तर त्यही घटना दोहोरियो । कोही गोठाला वा उपद्रवी मान्छेले कुवामा ढुड्गा फालिदिएछ, भनेर पुनः त्यस शिलालाई उनले निकै टाढा फालिदिए र घर गए । त्यो प्रक्रिया तेस्रो दिनमा पनि दोहोरियो । उनी आश्चर्यचकित भए र त्यस शिलालाई कुवाको माथिपटि राखेर पानी लिई फर्किए । त्यस साँझ उनले सपना देखे ( सपनामा देवीले दर्शन दिइन् र भनिन् – म जलमुखी हुँ, तिमीले पटकपटक निकालेर फालेको शिला मै हुँ । मलाई उच्च स्थानमा राखेर पूजाआजा गरे म यहाँका सबैको कल्याण गर्नेछु । ) देवी अन्तरध्यान भइन् । कामी बुढाको सपना टुट्यो । उनी पहिलेजस्तै गरी कुवामा गए । उनले अघिल्लो दिन कुवामाथि राखेको शिला कुवामा नै भेटियो । उनले त्यस दिन शिलालाई दर्शन गरे र पानी भरेर फर्केपछि गाउँका ठूलाबडाहरूलाई भेला गरी विगत तीन दिनदेखि भएको घटना र सपनासमेतको वर्णन गरे । सबै गाउँलेहरू जम्मा भए र कुवामा गए । उनीहरूले वेदमन्त्रोच्चारणसहित शिलालाई डोलीमा राखेर पञ्चेबाजा बजाउँदै माथिको डाँडामा लगे र एउटा विशाल साल वृक्षको फेदमा स्थापना गरी नित्य पूजाआजा गर्न थाले ।

मन्दिर उत्पतिको किंवदन्ती अनुसार प्राप्त शिलालाई एउटा सालको रूखमुनि स्थापन गरिएको थियो । मन्दिर बनाएर हालको स्वरूपमा ल्याउने कार्य भने उनै देवज्ञकेशरी अयार्ल सुनखानी (हालको चैनपुर) आएपछि भएको अनुमान गरिएको छ ।

मन्दिर निर्माणको अनुमानित समय

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा सहयोग गर्ने पं. चक्रपाणी अर्याललाई सुनखानीमा बिर्ता बक्सिस भएको थियो । पछि पं.चक्रपाणी अर्यालले आफ्नो कान्छो छोरा दैवज्ञ केशरी अर्याललाई त्यस बिर्ता पाएको स्थानमा ल्याए । दैवज्ञकेशरीले त्यसै स्थानमा बस्ने इच्छा राखे । राजघरानासँग सम्बन्ध भएको र छिमेकी स्थान (गोरखा) का व्यक्ति जनरल भीमसेन थापाको राजकाजमा प्रमुख वर्चस्व कायम भएको बेला गरिएका देशव्यापी पाटीपौवा, मठमन्दिर निर्माणको क्रममा जलमुखी मन्दिर पनि निर्माण भएको अनुमान गरिएको छ ।

मन्दिर बनाइसकेपछि घण्ट चढाइएको हुनसक्ने अनुमान गर्न सकिन्छ । त्यस ऐतिहासिक घण्ट चोरिनुभन्दा करिब दुई वर्ष पहिले यस लेखकको क्यामराभित्र पसेको थियो । लेखकले जलमुखीको अध्ययनको क्रममा घण्टको समेत अवलोकन गरी त्यसमा कुँदिएका श्लोकहरूको व्यापक अर्थ खोजेको थियो । घण्टको घेरोमा लेखिएको श्लोक टिपोट गरेर छलफल गर्दा उक्त घण्ट वि.सं. १८५७ को दशहरा तिथिका दिन देवज्ञकेशरी अर्यालले चढाएको निष्कर्ष निकालियो ।

स्थानीय अर्यालहरूका अनुसार (नोदराज र नर्मराज), देवज्ञ केशरी अर्याल वि.सं. १८५० पछि नै त्यस स्थानमा आएका थिए भन्ने भनाइले यस कुरालाई पुष्टि गर्न आधार दिन्छ । घण्ट मन्दिरको निर्माण सकिएपछि चढाइएकोले मन्दिर निर्माण पनि वि.सं. १८५६/ ५७ मा सम्पन्न भएको अनुमान गर्न सकिन्छ र यसको निर्माणमा प्रधानमन्त्री भीमसेन थापासँग सहयोग लिने कार्य दैवज्ञ केशरीबाट नै सम्भव भएको अनुमान गर्न सकिन्छ ।

मन्दिरमा पूजाआजाको व्यवस्था

हाल मन्दिर रहेको स्थानको दायाँतिर एउटा पाटी पनि छ । यो पाटी मन्दिरमा पूजा गर्न र बत्ती बाल्न जाग्राम बस्न आउने भक्तजनहरूको सजिलोका लागि निर्माण गरिएको हो । हाल ढल्नै लागेको यस पाटीको छानो पनि वि.सं. २०१९ अघिसम्म झिंगटीको भएको स्थानीय लीलानाथ आचार्य बताउँछन् । जिर्णोद्वार गर्दा यसको छानो ढुङ्गाको हुन पुगेको पाइन्छ । यस मन्दिरमा नित्य पूजाआजा चलाउनका लागि दुई किसिमका गुठीहरूको व्यवस्था गरिएको देखिन्छ । लगभग २२४ मुरी माटोको गुठी व्यवस्था भएपनि यसले मन्दिरको संरक्षण तथा सम्वर्द्धनमा खासै उल्लेख्य काम गरेको पाइँदैन ।

जलमुखीको मन्दिर परिसरमा नित्य पूजाआजा चल्ने व्यवस्था छ, भलै त्यो क्रमले निरन्तरता पाए नपाएको हेर्ने निकाय भने छैन । यसबाहेक दसैँको बेला गरिने नवरात्री पाठ, महाअष्टमीमा गरिने बली पनि यहाँको अर्को विशेषता रहेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन र पञ्चमीका दिन तथा फागु पुर्णिमाका साँझ मेला लाग्दछ । यी मेलाका दिनमा भने गोरखा र नुवाकोटसम्मका श्रद्धालुहरू यस मन्दिरमा आउने गरेका कुरा स्थानीयहरू बताउँछन् ।

कार्तिक शुक्ल पूर्णिमाका दिन र पञ्चमीका दिन श्रद्धालु भक्तजनहरूले बाबियोले बनेको डोरीमा रङ्गीचङ्गी फूल उनेर त्यसलाई डोलीमा राखी पञ्चैबाजा बजाउँदै, गाउँदै र नाच्दै मन्दिरमा ल्याउँछन् र मन्दिरको वरिपरि फूलको डोली बाँधेर बडाँ दिने गर्दछन् । अन्य श्रद्धालु गृहिणीहरू रातभरि जाग्राम बसेर तेलको बत्ती बाल्दछन्, कतिपयले महाद्विप पनि बाल्दछन् । मानिसहरूले भजन, कीर्तन, नाचगान गर्दछन्, जलमुखी देवीको नाममा पूजाआजा तथा गौदान गरेपछिमात्र फूल बिसर्जन गरी घर जाने चलन अब पुरानो भइसकेको छ ।

जाँडरक्सी, होहल्ला झैझगडाका कारणा यस्तो संस्कार र चलन मेटिँदै गएको छ । आजभोलि बिहानपख मन्दिरमा पुगेर बत्ती बाली औपचारिकता पूरा गर्नेहरू बढिरहेका छन् । गाउँघर सुरक्षित नभएको मन्दिर देवालयहरू अपराधीहरूको अपराध गर्ने थलोको रूपमा विकास भएका कारणले होला अब महत्वपूर्ण तिर्थस्थल वा देवस्थलहरू शुन्य हुँदैछन् ।

दृश्यावलोकन स्थल

यस ठाउँमा उभिएर आँखु र बुढीगण्डकीको काखमा लम्पसार परेर सुतेको सल्यानटार, धावा लगायत गोरखाका कैयन उत्तरपश्चिमी भूभागका अतिरिक्त धादिङ जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजार, कुम्पुर, नीलकण्ठ, खाल्टे, ढोला, चैनपुर, धुवाँकोटदेखि उत्तरका विभिन्न गाउँ विकास समितिहरूलाई एकसाथ हेर्न सकिन्छ । बूढापाकाहरू यहाँबाट चन्द्रागिरी समेत हेर्न सकिने बताउँछन् । मन्दिरको परिशरमा उभिँदा मुसुक्क हाँसिरहेका देखिने गणेश हिमाल, लाङटाङ हिमाल तथा अन्नपूर्ण हिमखलाहरूले मनै लोभ्याउँछ । यहाँबाट अन्य के के कुरा देख्न सकिन्छ ।

प्रकृतिको सुन्दर उपहार जलमुखी क्षेत्र, पुर्खाहरूको अध्यात्मिक आस्था र विश्वासको केन्द्रको रूपमा रहेको जलमुखीको वर्तमान अवस्था असाध्यै दयनीय छ । यस्तै अवस्था रहिरहँदा यो एउटा खण्डहरको रुपमा मात्र परिणत हुन सक्दछ । आफ्नो मौलिक संस्कृति, आस्थाको केन्द्र मास्दै जाँदा र यसलाई एउटा भग्नावशेषको रुपमा परिणत गर्दै जाँदा यहाँका समुदायहरूको गर्व गर्न लायक ऐतिहासिक सम्पदा नै समाप्त हुनेछ । मासिँदै गएका बोटबिरुवाहरू ढल्ने दिन पर्खिरहेको पाटी रुग्ण बनेको जलमुखी मन्दिर, चोरको निर्वाध प्रकोपमा परेको मन्दिर र मन्दिरका गहनाहरू सभ्य समाजको लागि चुनौति हुन् ।

यहाँको सरक्षण गर्न सके, भइरहेको गुठीलाई मन्दिरको हितमा परिचालन गर्न सके, राज्यका तर्फबाट यस्तो ठाउँको विकास पूर्वाधारलाई चासो राखेर संरक्षण गराउने प्रयास गराउन सके यो दर्शनीय स्थल धार्मिक आस्थाको लागि मात्र होइन पर्यटकीय स्थलका लागि पनि वरदान साबित हुने थियो । जलमुखी मन्दिरको पहिलो फोटो र काफलपानी गुरुङ गाउँको तस्विर बाहेक यो लेख हिमालदर्पण अनलाईनबाट साभार गरिएको हो

Facebook Comments