सानिमा लाइफ र रिलायन्स लाइफले आजदेखि एकिकृत कारोबारको शुभारम्भ गरेका छन् ।
हाल रिलायन्स लाइफको चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ रहेको छ । मर्जरपछि चुक्ता पूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई चैत मसान्तसम्म चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ। उक्त निर्देशन अनुसार मर्जरपछि चुक्ता पुग्न अझै ९० करोड रुपैयाँको जोहो गर्नुपर्ने हुन्छ ।
मर्जरका लागि दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । १:१ को स्वाप अनुपातमा मर्जर भएका यी कम्पनीले फागुन १२ गते साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरेका थिए ।
मर्जर पछि कम्पनीमा कर्मचारीको संख्या ५५० नाघ्नेछ । त्यस्तै मर्जरका क्रममा शाखा सञ्जाल १७५ वटा पुगेको छ । विगतमा दुई कम्पनीको शाखा कार्यालय १२०/१२२ वटा थियो । खासै व्यवसाय नहुने शाखालाई मर्ज गरिएको छ ।
दुबै कम्पनीले शाखा कार्यालयमा एक दुई जना कर्मचारीबाटै सञ्चालन गर्दै आएका थिए । यसले गर्दा पनि कम्पनीलाई कर्मचारी व्यवस्थापन धेरै सहज भयो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा क्षेत्रमा दोस्रो सफल मर्जरको इतिहास समेत रचेको छ । सानिमा लाइफ र रिलायन्स लाइफले नेपाल बीमा प्राधिकरणबाट एकै पटक जीवन बीमा व्यवसाय सञ्चालनको लागि लाइसेन्स प्राप्त गरेका थिए ।











