२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन : उपमहासचिव रिमाल

एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन : उपमहासचिव रिमाल
सेयर गर्नुहोस्
०सेयर

धादिङ, १२ वैशाख

नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताउनुभएको छ । पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ आउनुभएका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले जिम्मेवार प्रतिपक्ष बनेर खवरदारी गर्ने बताउनुभयो ।

उपमहासचिव रिमालले देश गम्भीर आर्थिक संकटउन्मुुख रहेकाले अर्थतन्त्र संकटमा पर्न नदिनका लागि एमालेले जिम्मेवार भूमिका खेल्ने बताउनुभयो । अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षको रुपमा एमालेले खबरदारी जारी राख्ने उहाँको भनाइ छ । देशको हितमा काम गर्नका लागि एमाले आवश्यक भएको भन्दै उहाँले संसदीय चुुनावमै एमालेले अर्थतन्त्र सुधारका लागि अवधारणा बनाएर सार्वजनिक गरेको स्मरण गर्नुभयो ।

एमालेको नेतृत्वमा एक वर्षमा देशका सबै परिसूचकहरु सुधार्ने गरी स्थायित्वको प्रयास गरेको भए पनि नेकपा (माओवादी केन्द्र)को अस्थिर निर्णयका कारण सम्भव नभएको उहाँको भनाइ छ । एमालेले देशको नेतृत्व गरेर एक वर्षमा आर्थिकसँगै सबै सूचकहरुमा सकारात्मक दिशा दिने अवधारणासहित चुनावमा गएको र चुनावलगत्तै त्यसको प्रयासमा तुलनात्मक रुपमा सानो दललाई प्रधानमन्त्री बनाएको रिमालले स्पष्ट पार्नुभयो ।

तर, प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले अस्थिर चरित्र फेरि देखाएर देशलाई गलत दिशा दिनेतर्फ अग्रसर भएको बताउनुभयो । फरक प्रसंगमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताउँदै चितवन, तनहुँ र बारामा भएको उपनिर्वाचनमा एमालेले केही नपाए पनि केही गुमाउन नपरेको उहाँको भनाइ छ ।

“यो चुनावी नतिजाले एमालेलाई फरक पर्दैन । हामी प्लस, माइनस शून्यमा छौँ,” उहाँले बताउनुभयो, “यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि ।”

यो समाचार सेयर गर्नुहोस्
०सेयर
सीताराम अधिकारी लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।