जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको ज्यान गएको पुष्टि भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । झण्डै सय जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्याल जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ ।

रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  जाजरकोट केन्द्र बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प गएको हो । सुतिरहेको बेला भूकम्प गएकाले धेरै जना घर बाहिर निस्कन पाएका थिएनन् । सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।

भूकम्पका घाइतेको उद्धार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्रीको निर्देशन

जाजरकोटमा गएरातिको भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिनुभएको छ । उहाँले घाइतेहरुको तत्काल उद्धार र राहतका लागि सबै संयन्त्रहरुलाई सक्रिय  रुपमा काम गर्न भन्नुभएको छ ।

घाइतेहरूको उद्धारका लागि स्वास्थ्यकर्मी, हेलिकप्टर र औषधि पठाउने तयारी भइरहेको हेलो सरकारले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति प्रधानमन्त्रीले गहिरो दु:ख व्यक्त गर्दै घाइतेहरुको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Facebook Comments