गत भदौ १० गते भोटेकोसीमा आएको बाढीले फुर्केखोलामा रहेको पक्की पुल बगाएपछि अस्थायी पन्टुन ब्रिज जडान गरिएको छ । गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ जोड्ने फुर्केखोला (जलदेवी मन्दिरनजिक)स्थित त्रिशूली नदीमा अस्थायी पन्टुन ब्रिज जडानको काम सम्पन्न भएको हो। केही दिनअघि सुरु गरिएको पुल जडानको काम आइतबार सकिएको हो। अब प्राविधिक परीक्षण र पहुँच मार्ग (एप्रोच रोड) निर्माणको बाँकी काम पूरा भएपछि पुलबाट सवारी आवागमन सञ्चालनमा आउनेछ।
धादिङका १३ वटै स्थानीय तहको पहल र लागत साझेदारीमा जडान गरिएको उक्त पुलमा सोमबार सवारीसाधन गुडाएर प्राविधिक तथा भारवहन क्षमता (लोड) परीक्षण गरिनेछ। परीक्षण सफल भए मंगलबारदेखि नियमित रूपमा सवारी आवागमन सञ्चालन गर्ने तयारी भइरहेको धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष एवं पुल खोज तथा जडानका संयोजक यामनाथ दनैले बताउनुभएको छ ।
थप समस्या नआए मंगलबारदेखि औपचारिक रूपमा सवारीसाधन सञ्चालनमा आउने उहाँको भनाइ छ। एक साताभित्र पुल जडान गर्ने लक्ष्य राखिए पनि पहुँच मार्ग निर्माणलगायतका काम सम्पन्न गर्न केही समय लागेको उहाँले बताउनुभयो ।
पक्की पुल बगाएपछि धादिङको ८ वटा स्थानिय तह सहित गोरखाका नागरिकहरूले आवतजावतमा सास्ती भोग्दै आएका छन् ।










