
तमु गुरुङहरुको प्रमुख चाड मुप्रि–ल्हो अर्थात ल्होसार धादिङमा धूमधामका साथ मनाएका छन् । गुरुङको परम्परागत वर्ग चक्र प्रणाली अनुसार हि ल्हो (बिरालो वर्ग) को विदाई र मुप्री ल्हो (गरुड वर्ग) को स्वागत गर्दै गुरुङ जातिले तमु ल्होसार मनाएका हुन् ।
तमु ल्होसार गुरुङहरुको महान चाड तथा नयाँ बर्ष हो, गुरुङहरुको भाषा, संस्कार, संस्कृति, भेषभुषा र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न ल्होसार पर्वले मद्दत गर्ने बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले बताउनुभयो ।
पुख्यौंदेखि गुरुङ समुदायले प्रयोग गर्ने भाँडाकुडा, हस्तकलाका सामग्री, कपडा, दैनिक प्रयोग गर्ने सामग्री, विभिन्न नाँचमा प्रयोग गर्ने सामग्रीको संरक्षण र प्रवद्र्धनका लागि धादिङमा गुरुङ संग्राहलय निर्माणमा सहयोग गर्ने पनि मन्त्री लामाले प्रतिवद्धता जनाउनुभयो । गुरुङ जातिको पहिचान झल्कने खालको संग्राहलय निर्माण गरी पर्यटकलाई आकर्षित गर्न सके जिल्लाकै आर्थिक स्थिति सुधारमा सहयोग पुग्ने भएकोले संग्राहलय निर्माणको लागि जग्गा उपलब्ध गराइदिन स्थानीय सरकारसँग आग्रह पनि गर्नुभयो।
गुरुङ समुदायले हरेक वर्ष पुस १५ गते नयाँ वर्षका रूपमा मनाउने गर्दछ । गुरुङ जातीले यो वर्ष हि–ल्हो बिरालो वर्गलाई विदाई र मुप्रि–ल्हो (गरुड) वर्गलाई स्वागत गर्दै ल्होसार पर्व मनाएका हुन् । तमु ल्होसारमा गुरुङहरुको संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम सहित धादिङबेसीमा ¥याली निकालेका थिए ।
