
हुन त म अलि बच्चानै छु तर मलाई यी समाजसेवी, मोटिभेस्नल स्पीकर अनि अभियन्ताहरु भन्ने बित्तिकै कता कता ‘फ्रड’ वाला फिलिंग आइहाल्छ । सबैले त्यसो नगरेका होलान्, कोही कोही त नाम अनुसारकै काम पनि गरिरहेका होलान् । तर अधिकांश चाहिं अल्छीहरु हुन, जो अरु काम गर्न नखोजेर/नसकेर यसो गरिरहेका हुन कि जस्तो लाग्छ !
तपाईंले ध्यान दिएर दैनिक गतिविधि नियाल्नुभयो भने समाजसेवीलाई घरमा नुनतेल सकिएको, बच्चाको फि तिर्ने बेला भएको, श्रीमतीलाई जोरो आएको, बाबाको ओखती सकिएको खासै थाहा हुँदैन । तर उनीहरुलाई संसारभरको खबर थाहा हुन्छ । कहिलेकाहिं जहानले बजार बाट ‘यो ल्याउनुहोला न’ भनिन् भने पनि यिनले झर्को मान्छन् !!
अनि यी मोटिभेसन बीजनेस वालाको त के कुरा गर्नु ? जमीनका कुरा कहिलै गर्दैनन,आकासका गर्छन् । यिनीहरु सफल र धनी मानिसका स्टोरीहरु सुनाउछन् । तर जसलाई सुनाउछन् उनीहरुकै दैनिक जीवनका स-साना खुसी कसरी बटुल्ने भनेर बताइदिन्नन् ।‘फलानो जस्तो हुनु’ भन्ने भाष्य निर्माण गरिदिन्छन्, मानिसलाई आफू जस्तो हुन नै दिन्नन् !!
रहे यी अभियन्ताहरु, यिनीहरु त झन खतरा भावनाका व्यापारी जस्ता लाग्छन् । अधिकतम अभियन्ताले गरीब र विपन्न समाजको एउटा कथा बेच्छन् र भित्र भित्र आफू चाहिं सम्पन्न बन्छन् ! अझ राजनीतिक अभियन्ताको त के कुरा गर्नु मलाइ त बेरोजगारीको उपचार हो जस्तो लाग्ने गर्छ कहिलेकाहिं त !!
यी भन्दा त असिनपसिन हुँदै बेनी देखि दर्बङ भनि दौदि रहेका सहचालक दाइ मलाई सच्चा अभियन्ता लाग्छ !
खर्पनभरी साग बोकेर चर्को घाममा बेनी बजार धाइरहने हजुरबुबा हुन खासमा समाजसेवी त !
अफिस बाट फ़र्के पछि जो भट्टी जाँदैन, आफ्ना नानी बाबुको हात समातेर जसले होमवर्क गराउँछ, उही हो असली मोटिभेस्नल स्पीकर !!