मेरो गाउँको एकजना काका अहिले काठमाण्डौमा बस्नुहुन्छ । छोराबुहारी र नातीनातीना सबै काठमाण्डौ बस्ने भएकाले केही बर्षदेखि काका काकी पनि काठमाण्डौमा नै बस्दै आउनुभएको छ । सामाजिक सञ्जालमा जोडिनुभएका काकाले समय समयमा फोसबुकमा नयाँ नयाँ पोष्टहरु राखिरहनुहुन्छ । एक पटक काकाले घरको छतमा गरिएको कौसी खेतीको फोटो फोसबुकमा राख्नुभयो । काकाले मात्र होइन, काकाका छोराबुहारीले पनि आफ्नो फेसबुक पेजमा बुबा आमाको पौरख, भन्दै समय समयमा कौसीमा गरिएको तरकारी खेती समेतको फोटो राख्ने गरेका छन् ।

त्यसको केही दिनपछि मेरो र काकाको कौसी खेतीका बिषयमा फेसबुक मेसेन्जरमा गफ भयो । फोनमा गफ हुँदा काकाले भन्नुभयो ‘बाबु हामी त अहिले काठमाण्डौ बस्छौं, अब गाउँको खेतबारी केही पनि बिकेन, अनि त्यत्तिकै बाँझै छाडेर हामी त घरमा ताला लगाएर शहर पसेको’ के गर्नु गाउँमा एकदिनभरी हिडेर पनि नभ्याइने खेतबारी बाँझै छन् । यहा भने घरमात्रै छ, हामीलाई त उकुसमुकुस भएको छ, छोराबुहारी यतै बसौं भन्छन्, मनले मान्दैन ।

यता पनि यत्तिकै के बस्ने भनेर यसो घरको छतमा सिजन अनुसारको तरकारी र सागसब्जी खेती गरिएको छ । गफको क्रममा काकाले काठमाण्डौको घरको छतमा गरिएको कौसी खेतीका बारेमा बेलिबिस्तार लगाउनुभयो । काँक्रो खाने बेला भएको, करेला फुल्न लागेको, काउली र बन्दागोभि भरखर लगाएको, सागपात र धनीया राम्रो रहेको भन्नुभयो काकाले ।

कौसी खेती शुरु भएपछि घरायसी तरकारी किन्न नपरेको, सधैँ ताजा र अर्गानीक तरकारी खान पाइएका कारण स्वास्थ्यमा पनि समस्या नआएको कुरा काकाले सुनाउनुभयो । हुनपनि काका काकीले कौसी खेतीमा निकै मेहनत गर्नुभएको छ । छोराबुहारी काममा जाने भएपछि नाती नातिनाको रेखदेख गर्दै फुर्सदको समयमा कौसी खेतीमा रम्नुभएका काकाकाकीको मेहनतमा वरपरका छिमेकी समेतले प्रशंसा गर्ने गरेका छन् । गाउँकै चलन अनुसार काकीले सिजन अनुसारका सागसब्जी छिमेकीलाई बाड्दै पनि आउनुभएको छ ।

हुन पनि काकाकाकीले गाउँमा हुँदा खेतबारीमा धेरै मेहनत गरी धान, मकै, गहु, कोदो लगायतका अन्नपात र तरकारी खेती गरी राम्रै आम्दानी गर्नुभएको हो । गाउँघरको त्यही अन्नपात र तरकारी खेतीको कारण छोराछोरीको पठनपाठन लगायतका अन्य नियमित घरायसी गर्जो टरेको थियो । गाउँघरमा हुँदा त्यति धेरै परिश्रम गर्नुभएका काकाकाकी शहर पसेपछि त्यतिकै कोठाभित्र बसिरहन मनले मानेन र घरकै छतमा आफ्ना खेतबारी सम्झिएर सागसब्जी लगाउन थाल्नुभयो ।

यसबाट थोरै भएपनि घरायसी गर्जो टर्न गयो भने के गरौ र कसो गरौं भन्ने उकुसमुकुसबाट पनि केही राहत मिलेको छ । मेरा गाउँका काका काकी मात्र होइन, पछिल्लो समय गाउँ छाडेर शहर पसेका धेरै मानिसले घरको छतमा कौसी खेती गर्न शुरु गरेका छन् । यसबाट राम्रो सन्देश पनि मिलेको छ । कौसी खेतीले थोरै भएपनि आफ्नो आवश्यकता पुरा गरेको देखिन्छ । आत्मनिर्भर हुनु आफैंमा राम्रो कुरा पनि हो ।

काका काकीको यस्तो कुरा सुनेपछि मेरो मनमा कौतुहलता उत्पन्न भयो । घरको छतमा गरिएको कौसी खेती काका काकीको रहर हो कि बाध्यता ? हुन त यो काका काकीको नितान्त निजी मामला हो, यसमा यहाँ अनावश्यक टिकाटिप्पणी गर्नु आवश्यक पनि छैन । तर पछिल्लो समयमा देखिएका यस्ता गतिविधिले भने धेरैको मनमा यस्ता टिप्पणी पक्कै उब्जन्छ जस्तो लाग्छ । एकातिर गाउँघरको खेतबारी बाँझै छ, अनि अर्कोतिर घरको सानो छतमा उमारिएको थोरै हरियाली ।

त्यसमाथि, मेरो बा आमाको पौरख भन्दै मख्ख पर्ने छोराबुहारीको दैनिकी । कुरा त पक्कै पनि सोचनिय नै छ । प्रशंग निकाल्दा फेरी उही कुरा आउँछ, ….. निजी मामला, आन्तरिक विषय कुरा हो पनि । यहाँ कौसी खेती गर्नै हुन्न भन्न खोजिएको पक्कै होइन, गर्नुपर्छ, तर धेरैलाई भुलेर थोरैमा चित्त बुझाउने जुन परिपाटीको विकास हुँदै गएको छ, त्यस विषयमा मात्र कुरा गर्न खोजिएको हो ।

जे होस, यो एउटा छलफलको विषय बन्ला नबन्ला, कुरो आफ्नो ठाउँमा छ । यसलाई दुबै तर्फबाट हेर्दा उत्तिकै सान्दर्भिक पनि लाग्छ भन्ने लागेको छ । शहर पसेपछिको आवश्यकता पनि हुनसक्छ कौसी खेती । अनि गाउँघरलाई फर्केर हेर्दा ती बाँझो खेतबारी, ती जीर्ण घर अनि भएका पनि अस्तव्यस्त अवस्थामा रहेका आवरणहरु । यस्तो अवस्थाले पक्कै पनि केही कुरा सोच्न बाध्य बनाएको छ । यो तीतो यथार्थ हो ।

गाउँघरको हिजोको चहलपहल, हिजोको दिनचर्या मात्र होइन, हिजोको रहनसहन पनि विस्तारै हराउँदै गएको छ । विस्तारै शहरको झल्को गाउँघरमा आउन थालेको छ । गाउँघरका मानिस विस्तारै शहर पसेका छन्, शहर पस्नेहरु विस्तारै विदेश पलायन हुँदैन यो यथार्थ हो ।

Facebook Comments