सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको १० औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ‘गुणस्तरीय शिक्षाका विद्यालय व्यवस्थापन समितिको भुमिका’ सम्बन्धि बागमती प्रदेश स्तरीय अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको हो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा सम्पन्न भएको कार्यक्रममा “हामी सुधार्छौं हाम्रो विद्यालय” राष्ट्रिय अभियान अन्तरगत उक्त अन्तरक्रिया कार्यक्रम गरिएको महासचिव श्याम मगरातीले बताउनुभयो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, बागमती प्रदेशका अध्यक्ष भाग्यश्री लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहनिर्देशक डाक्टर रविन्द्र शिवाकोटीले विद्यालय व्यवस्थापन समितिको इतिहास, गठन प्रक्रिया, गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समितिको भुमिकाको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुतीपछि ककनी गाउँपालिका नुवाकोटका शिक्षा शाखा प्रतिनिधि शंकरप्रसाद लोहनी, शुभलक्षण साप्ताहिक पत्रिकाका प्रधान सम्पादक श्यामराज पाठक, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका जिल्ला अध्यक्ष एवं संयोजक लगायत सरोकारवालाहरुले शिक्षाको गुणस्तर सुधारमा विद्यालय व्यवस्थापन समितिलाई भएको समस्या तथा चुनौतिको विषयमा जानकारी गराएका थिए ।