
बालबालिकाहरु भनेका कुमाल (माटोको भाडाँवर्तन बनाउने जाती) ले भाडा बर्तन बनाउनको लागि तयार गरेको काचो गिलो माटो हो भनेर हामीले सुन्दै र सुनाउँदै आएका थियौ र छौं पनि । हामीले बालबालिकालाई जस्तो बनाउन खोज्छौं, त्यस्तै अवस्थामा हिडाउन सकिने भएर नै होला साना बाबुनानीहरुको उमेरलाई कुमालको माटोसँग तुलना गरिएको होला । यसो सोचविचार गरि हेर्दा यो भनाई ठिक हो जस्तो लाग्छ पनि । बालमष्तिष्कलाई राम्रा र सकारात्मक कुरा सिकाउने उमेर नै त्यो हो । यसकारण बालबालिकाको उमेरको पहिचान गरी सकारात्मक कुरा सिकाउने, राम्रा अभ्यान गर्न लगाउने बेलाको हामीले ख्याल गर्नुपर्छ ।

अहिलेको यो समयमा अधिकांश बालबालिकाहरु विद्यालयको बार्षिक परिक्षा सकेर फुर्सदमा रहेका छन् । विद्यालयको परिक्षा सकिएपछि आएको यो छोटो फुर्सदको समयमा बालबालिकाहरु निकै खुसी पनि देखिन्छन् । विद्यालय जान नपरेपछि बालिबालिकाहरु खुसी हुने नै भए । फुर्सदको समय भन्ने वित्तिकै बालबालिकाहरु घुम्न जाने, मिठो खाने, परिवारका सदस्यहरुसँग बस्न मन पराउँछन् । धेरै जसो अभिभावकहरुले नै परिक्षा दिएपछि यो ठाउँमा घुम्न जाने, यसो गर्ने, विदामा पोखरा जाने, सौराहा जाने घुम्ने भनेर बालबालिकाहरुलाई सुनाईसक्नुभएको पनि छ । यो कुराले बालमस्तिष्कमा सोही छाप परिसकेको हुन्छ र घुम्न जान, नयाँ ठाउँ, नयाँ कुरा हेर्न आतुर पनि हुन्छन् । परिक्षा सकिएपछि उनीहरु छिटो घुम्न जाने भन्दै अभिावकहरुलाई नै घचघच्याउन थाल्छन । यस्तो अवस्थामा अभिभावकहरु पनि बालबालिकाको कुरा नकार्न सक्दैनन् र घुमाउन लान बाध्य हुन्छन् । घुम्न लैजानु राम्रो कुरा पनि हो । बालबच्चाले नयाँ ठाउँ चिन्ने जान्ने मौका पाउँछन्, त्यहाको अवस्था थाहा पाउँछन्, केही नयाँ कुरा पनि सिक्छन् । तर विदाको समय भनेको के घुम्नु र घुमाउनु मात्र हो त ? पक्कै पनि होइन होला । त्यसो भए परिक्षा सकिएपछि आएको यो छोटो समयमा घुम्नुका अतिरिक्त के गर्ने होला त ? यस विषयमा यहाँ छोटो चर्चा गरौै हौ त ।
(क) हाम्रा परम्परागत चालचलनबारे जानकारी :
अहिले आएको नयाँ संरचना र आधुनीक परम्पराले हाम्रा परम्परागत चालचलन विस्तारै हराउँदै जान थालेका छन् । यस विषयमा हाम्रा बालबालिकाहरु पक्कै उती जानकार नहुन सक्छन् । पहिले पहिले हाम्रा गाउँघरमा रहेका चलनहरु, मर्दापर्दा एक आपसमा गरिने सहयोग, छरछिमेकमा हुने औचोपैचों, लेनदेन, सरसापट, भारोपर्म, मेलापात, भोजभतेर, सामाजिक कार्य, चौतारो निर्मिाण तथा पुननिर्माण, गोरेटो बाटोघाटो मर्मत सम्भार, पुलपुलेसा बनाउने, बनजंगल गोडमेल, लगायत धेरै भन्दा धेरै हाम्रा सामाजिक क्रियाकलापहरुका विषयमा बालबालिकालाई यसो जानकारी दिँदा मात्र पनि अवश्य केही नयाँ कुरा जानिन्छ । त्यतिबेला हाम्रो समुदायमा हुने गरेका नियमित क्रियाकलापका बारेमा बालबालिकाले धेरै थाहा पाउँछन् जुन कुरा अहिले धेरै लोप भइसकेको अवस्था छ । फुर्सद पाउँनासाथ मोबाईल हेर्ने बानी परेका अहिलेका बालबालिकाहरु र अभिभावकहरु दुवैको लागि यो विदाको समय यस्ता हाम्रा कयौं परम्परागत चालचलनबारेको सिकाई फलदायी हुनसक्छ ।

(ख) हाम्रा चाडपर्व र तिथीमितीबारे जानकारी :
हाम्रा यस्ता चाडपर्व छन् जसका विषयमा बालबालिकाहरुलाई उतिसारो जानकारी छैन । हामीले मनाउने दशैं, तिहार, ल्होछार, क्रिसमस लगायतका अन्य चाडपर्वको नाम त बालबालिकाले सुनेका छन् तर किन मनाईन्छ, भन्ने थाहा नहुन सक्छ । यसकारण यी र यस्ता हामीले मनाउने धेरै चाडपर्वहरुको महत्व के हो ? किन मनाइन्छ ? कसरी मनाइन्छ भन्ने विषयमा पनि बालबालिकाहरुलाई सिकाउन सकियो भने राम्रो होला ।
यस्तै अर्को महत्वपूर्ण विषय भनेको हामीले मान्ने तिथीमितीका बारेमा पनि सिकाउदा राम्रो हुन जान्छ । जस्तै औंसी, पूर्णिमा किन भनिन्छ ? औसींका दिन र पूर्णिमाको दिनको फरक के छ ? यसको महत्व लगायतका विषयमा आफ्ना अग्रजहरुबाट सिकाउँदा उनीहरुलाई पक्कै यसबारे नयाँ ज्ञान मिल्नेछ ।
(ग) हामीले दैनिक प्रयोग गर्ने घरायसी सामाग्रीहरु:
हामीले दैनिक रुपमा प्रयोग गर्दै आएको तर अहिले प्रयोगमा त्यति नआएका त्यस्ता धेरै घरायसी सामाग्रीहरु छन्, जसका विषयमा बालबालिकाहरुलाई हामीले प्रत्यक्ष रुपमा देखाउँदै सिकाउन सक्छौं । जस्तै हसिया, करौती, कुटो, कोदोलो, कोदाली, गल, घन, हतौडी, नाम्लो, दाम्लो, भकारी, ढक्की, ढिकी, जाँतो, हलो, जुवाँ, दाँदे, थुन्से, ढोको डालो, नाङ्लो, मान्द्रो, ठेकी, मदानी, लगायतका धेरै भन्दा धेरै सामाग्रीहरु छन् जुन सामाग्री हामीले पहिले पहिले दैनिक रुपमा प्रयोग गर्ने गथ्यौं तर अहिले विस्तारै चलन चल्तिमा आएका छैनन् । साथै यी सामाग्रीहरुको कार्यका विषयमा पनि बुझाउन सकिन्छ । यस्ता सामाग्रीले पनि पक्कै बालबालिकाहरुलाई नयाँ ज्ञान दिन सक्छ । यसैगरी हामीले उनीहरुलाई हाम्रो परम्परागत घर तथा गोठको संरचना, सो मा प्रयोग गरिने गरिएका सामाग्री जस्तै ढुंगा, माटो, नाल, थाम, दलिन, चौकोस, डाडा, भाटा ईत्यादी विषयमा जानकारी दिलाउन सकिन्छ ।
(घ) खेतीपातीका विषयमा जानकारी :
बालबालिकाहरुलाई हामीले गर्ने सिजन अनुसारका खेतीपातीका तौर तरिकाका बारेमा पनि यो विदाको समयमा बुझाँउदा राम्रै होला । जस्तै ः धान रोप्ने तरिका, समय, आवश्यक सामाग्री, मकै लगाउने तरिका, आवश्यक मलको प्रबन्ध, जमिनको तयारी खनजोत, गोडमेल आदी ईत्यादीको बारेमा बुझाउन सकिन्छ । धेरैलाई ज्ञान नहुन सक्छ धान मकै उब्जनी हुन कति धेरै समय लाग्छ र त्यसको लागि कति परिश्रम गर्नुपर्छ भनेर । यसकारण यी र यस्ता कुराले हाम्रा बालबालिकाहरु पक्कै पनि धेरै जानकार हुनसक्छन् ।
यी र यस्ता धेरै विषय छन् जसका विषयमा हाम्रा बाबुनानीहरुलाई बुझाउन अति जरुरी छ । विस्तारै हामीले पछ्याउन छाडेका यी र यस्ता विषयले हाम्र बालबालिकाहरुलाई केही नयाँ ज्ञान पक्कै पनि मिल्नेछ । हाम्रा हजुरबुवा, हजुरआमाहरुले त्यतवेला आफ्नो दैनिकी चलाउन गर्नुपरेको संघर्ष, नजिक बजार नहुँदा परेको समस्या, काठमाण्डौ हिडेर नै जानुपरेको, विरामी हुँदा डोकामा विरामी बोकेर लानुपरेको लगायतका अन्य धेरै बास्तविक जीवन भोगाईको कुरा हामीले हजुरबाको मुखबाट सुन्दा जति हामीलाई उत्सुकता र कौतुहल लाग्थ्यो, त्यति नै हाम्रा बाबुनानीहरुलाई पनि लाग्न सक्छ । र यस्ता कुरा बालबालिकालाई सुनाउनु पनि पर्छ ।
त्यतिमात्र होइन, अहिलेका बालबालिकाहरुलाई घरमा पालिएको गाई भैसी, भेडाबाख्रा लगायतका घरपालुवा जनावारको बारेमा पनि जानकारी दिलाउनु आवश्यक छ । गाउँघरको खेतबारी चिनाउनु आवश्यक छ । परिवारका सदस्यहरुसँग घुलमिल गराउनु आवश्यक भइसकेको छ । हाम्रा नातागोता को कहाँ हुनुहुन्छ र हामीले कस्तो सम्बोधन गर्नुपर्छ भन्ने कुरा पनि सम्झाउनु आवश्यक भइसकेको छ । झट्ट सुन्दा सामान्य लाग्ने यी विषय धेरै महत्वपूर्ण छ । वर्तमान समयमा मोबाईलले समस्या ग्रस्त अवस्थामा पु¥याएको अवस्थामा परिक्षापछिको समयमा मिलेको यो छोटो फुर्सदको सही सदुपयोग गर्न सकियो भने विदाको सही सदुपयोग हुनेछ । गर्ने नगर्ने, गराउने नगराउने यहाँहरुको विचार ।