माघ १० (वासिङ्टन)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ । उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी जनाएको छ । यसअघि करिब हप्तादिन अघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र पठाउनुभएको समाचार आएको थियो । उक्त पत्रको अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार जवाफ दिनुभएको अमेरिकी संञ्चार माध्यमहरुले जनाएको छ । उक्त पत्र नेता किमलाई उत्तर कोरियाली सत्तारुढ दल, वर्कर्स् पार्टीका उपाध्यक्ष किम योङ चोलले दिनुभएको जनाइएको छ । चोल हालै अमेरिकाको भ्रमणमा जानुभएको थियो । उहाँले अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री माइक पेम्पेओसँग भेटवार्ता पनि गर्नुभएको थियो ।

उत्तर कोरियाली नोता किमले गत नोभेम्बरको शुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको बताइएको थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो । उत्तर कोरियाली नेता किमले सन् २०१९ को नयाँ वर्षको शुभकामनासम्बन्धी पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाउनुभएको थियो । सो पत्रपछि पुनःसम्बन्धमा नयाँपन आएको हो । केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेको थियो ।

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो । उक्त पहिलो शिखर वार्तामा छिट्टै नै अर्काे शिखर बैठक हुने भनिएपनि अहिलेसम्म हुन सकिरहेको छैन । उक्त बैठक आउँदो फेब्रुअरी महिनाको अन्तमा हुने समाचार हालैमात्र आएको छ । दोस्रो शिखर सम्मेलनको आतिथ्यता भियतनामले गर्ने इच्छा व्यक्त गरेको छ । तर यस विषयको अन्तिम टुंगो भने लागेको छैन ।

Facebook Comments