भुकम्पले सेर्तुङ स्वास्थ्य चौकी भवन भत्किए लगत्तै टेन्टमा विरामीको  उपचार गर्दै । तस्विर: अर्जुन श्रेष्ठ

कच्ची भवन, विरामीको चाप । औषधी राख्ने ठाउँको अभाव । महामारीको समयमा विरामीको चापले खुल्ला आकाशमा समेत उपचार । १२ बैशाख २०७२ सालमा आएको गोर्खा भुकम्पले वर्षाैदेखि बस्दै आएको भवन भत्कियो । तर पुनःनिर्माण हुन नसक्दा स्वास्थ्य संस्थाहरु पक्की भवन विहिन बनेका छन् ।

भुकम्प लगत्तै त्रिपालमा सेवा सुविधा दिएका स्वास्थ्य संस्थाहरुले त्रिपाल फेरेपनि अझै पक्की भवन नपाउदा समस्या झेलिरहेका छन् । भवन निर्माण गरिदिने आश देखाउन संघ संस्थाको घुइचो नैै लाग्यो । तर पुनःनिर्माण जिम्मा लिएका संस्थाहरु आफै हराए । भवन नबन्दा विरामीको उपचार गर्ने स्वास्थ्य संस्थाहरु अहिले आफै विरामी परेका छन् ।

ज्वालामूखी गाउँपालिका ४ धादिङकी  कल्पना भुजेल आँखा, टाउको दुखेर ज्वरोका कारण उपचारका लािग ढोला स्वास्थ्य चौकी आएको बताउँछिन् । स्वास्थ्य सेवा लिइरहेकी उनी बेञ्चमा सुतेर उपचार लिइरहेको भेटिइन् । भुकम्पले चर्किएको भवनमा ल्याव सञ्चालन भैरहेको भवन आफैमा डर लाग्दो छ । उहाँले भन्नुहभयो– सेवा लिन आउदा स्वास्थ्य चौकीमा बस्ने ठाउँ छैन ।

टाढादेखि आउनु पर्छ, न घर नजिक स्वास्थ्य चौकी छ । यहाँ उस्तै भिडभाड छ । कता ढलुँ जस्तो भयो, बेञ्चमै सुतेर सेवा लिएको उहाँले बताउनुभयो । भुकम्पले भत्किएको ढोला स्वास्थ्य चौकीकोे भवन अझै बनेको छैन । ग्रामिण क्षेत्र भएका कारण सामान्य समस्या देखि जटिल केश भएका विरामीहरु उपचारका लागि आउँछन् ।

स्वास्थ्य संस्थाले विरामीको उपचार गरी निको बनाउने हो । तर भवन अभावका कारण स्वास्थ्य सेवा तथा सुविधा दिन समस्या भएको ज्वालामूखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकामा कतै चर्किएको भवन त कतै अस्थायी भवनमा स्वास्थ्य सेवा प्रवाह भैरहेको छ । स्वास्थ्य संस्थाप्रति विरामी तथा स्थानीयको दरिलो विश्वास छ । तर कच्ची भवनमा पक्की सेवा दिन स्वास्थ्य कर्मीलाई समस्या छ । उहाँले भन्नुभयो– एकै चोटी धेरै जना विरामी आउनुभयो भने बाहिर बस्दै गर्नुस् भन्न पर्छ । होला विरामीले कुर्लान् । तर रोग तथा स्वास्थ्य समस्याले कुर्दैन ।

कतिपय अवस्थामा उभिएर तथा सुत्केरीलाई भुइमा राखेर समेत उपचार गराएका छौं । ति तिता बास्तविकताले स्वास्थ्य कर्मीलाई प्रोत्साहन मिल्ला कि नैराश्यता सबैको ध्यान जान आवश्यक रहेको उहाँले बताउनुभयो ।

ज्वालामूखी गाउँपालिकामा रहेको खरि स्वास्थ्य चौकीको हालत पनि उस्तै छ । विरामीको चापलाई स्वास्थ्य चौकीले थेग्न सकिरहेको छैन । सकेसम्म स्थानीयबासीलाई स्वास्थ्य सेवा लिन सदरमुकाम तथा जिल्ला बाहिर जान नपरोस् भनेर धेरै खालको सेवा तथा सुविधा विस्तार गरिएको छ । तर भवन अभावका कारण अस्थायी भवनमा सेवाहरु पनि खुम्चिएका छन् ।

संयोजक श्रेष्ठ भन्नुहुन्छ– ज्वालामूखी गाउँपालिकाबासी सबैले स्वास्थ्य संस्थामा सुत्केरी गराउनु पर्ने नियम बनाएका छौं । त्यसका लागि सुत्केरी हुनु अघि र भएपछि केहि दिन स्वास्थ्य चौकीमा राख्ने व्यवस्था छ ।

तर भवन अभावले वर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको उहाँले बताउनुभयो । वर्थिङ सेन्टर त उदाहरणको प्रतिविम्व मात्र हो । उहाँ थप्नुहुन्छ– आकस्मिक सेवा तथा अन्य थुप्रै रोगका विरामीहरुको उपचारका लागि स्वास्थ्य सेवा विस्तार गर्न समस्या भएको छ ।

४ वटा स्वास्थ्य चौकी, एक वटा सामुदायिक स्वास्थ्य इकाइ र दुइ वटा सामुदायिक स्वास्थ्य सेवा विन्दु गरी पालिकामा ७ वटा स्वास्थ्य संस्थाहरु सञ्चालनमा छन् । तर भुकम्पले क्षतिग्रस्त बनेका सबै स्वास्थ्य संस्थाको पक्की भवन अझै बनेको छैन । भुकम्पले भवन भत्किएपछि भारतिय दुतावासले भवन बनाइदिने जिम्मा लिएको हो । भत्किएको भवन नबन्दा कमजोर तथा अस्थायी भवनमा रहेर सेवा दिदै आएका छौं । तर भवन बनाइदिने जिम्मा लिएको दुतावास आफै हरायो । विरामीको उपचार गर्ने स्वास्थ्य संस्थाको भवन नबन्दा आफै विरामी परेको उहाँले बताउनुभयो ।

२ नगरपालिका ११ गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लामा भुकम्पले भत्किएका अधिकाशं स्वास्थ्य संस्थाका भवनहरु बनेका छैनन् । नेत्रावती गाउँपालिकामा रहेका केहि स्वास्थ्य संस्थाको भवन बनाउने जिम्मा पनि भारतिय दुतावासले लिएको हो । तर भवन नबन्दा मार्पाक स्वास्थ्य चौकी पनि अस्थायी भवनमा सञ्चालन भैरहेको छ ।

भवन अभावका कारण बहिरंग सेवा, आकस्मिक सेवा, वर्थिङ सेन्टरको लागि गर्भावस्था तथा सुत्केरी अवस्थामा स्वास्थ्य चौकीमै राख्न समस्या भएको स्वास्थ्य संयाजेक कृष्णबहादुर पौडेलले बताउनुभयो ।  अस्थायी भवन जुनकुनै बेला भत्किन सक्छ, सुरक्षित हुदैन । दरिलो स्वास्थ्य सेवाका लागि भौतिक संरचना अपरिहार्य नै हो । स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्रमा लापारबाहि हुनु भनेको आम नागरिकको स्वास्थ्यसँग खेल्नु हो । छिट्टै भवन निर्माण भैदिए सेवा तथा सुविधा प्रवाहमा सहज हुने उहाँले बताउनुभयो ।

गंगाजमुना गाउँपालिकामा रहेको री, गुम्दी, बसेरी स्वास्थ्य चौकीहरुको हाल पनि बेहाल छ । पक्की भवन नबन्दा कच्ची तथा अस्थायी भवनमा रहेर सेवा दिदै आएको छ । एक त कच्ची भवन, अर्काे आवश्यक मात्रामा भवन नहुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या थपेको पालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो । गंगाजमुना गाउँपालिकामा रहेका स्वास्थ्य संस्था पुननिर्माण गर्न भवन डिभिजन कार्यालयले जिम्मा लिएको हो ।

अधिकारीका अनुसार सबै स्वास्थ्य चौकीमा ल्याव सेवा संचालन गरिएको छ । वर्थिङ सेन्टर सञ्चालित छन् । तर भवन अभावले यस्ता खालका सबै सेवा प्रभावित बनेका हुन् । स्वास्थ्य कर्मीलाई बस्ने क्वाटरको व्यवस्था गर्ने भनिएपनि भवन नहुदा अलपत्र बनेको उहाँले बताउनुभयो।

पक्की भवनमा दरिलो सेवा

गोर्खा भुकम्पले स्वास्थ्य संस्थाका अधिकाशं भवन भत्किए । केहि स्वास्थ्य संस्थाका भवनहरु पुननिर्माण भए । कतिपय निर्माणाधिन छन् भने कतिपयको अझै बन्ने नबने टुङ्गो छैन । तर सुविधा सम्पन्न भवन पाएका स्वास्थ्य संस्थाहरुले सेवा तथा सुविधा विस्तार गरेका छन् ।

भुकम्पले भत्किएका तथा प्रयोग गर्न उपयुक्त नभएका भौतिक संरचनाहरु पुननिर्माण भैसकेको बेनीघाट रोराङ गाउँपालिकाका स्वास्थ्य संयोजक शंकर बाबु दुवाडीले बताउनुभयो। भुकम्पले क्षति पुगेका भवनहरुमा क्षति पुगेको आधारमा पुननिर्माण तथा मर्मत गरिएको छ ।

उहाँले भन्नुभयो– हाम्रो पालिकामा सबै स्वास्थ्य संस्थाका भवन बनिसकेका छन् । स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखेर पुननिर्माण ग¥र्याै । चिकित्सकको मनोवल बढाउन तथा ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्न नयाँ भवनले हौसला मिलेको छ । पक्की भवनमा दरिलोसँग सेवा प्रवाह भैरहेको दुवाडीले बताउनुभयो ।
भौतिक संरचना बनेसँगै स्वास्थ्य संस्थाहरुले सेवा तथा सुविधाको गुणस्तरमा पनि वृद्धि गरेका छन् ।

नीलकण्ठ नगरपालिकामा रहेको मुरलीभञ्याङ स्वास्थ्य चौकीले हाल पक्की भवनमा सेवा प्रवाह गरिरहेको छ । सेवाग्राहिहरुलाई छिटो छरितो सेवा त छदैछ, सँगसँगै स्वास्थ्य चौकीबाट ल्याव सेवा सुरु गर्ने तयारी भएको स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले बताउनुभयो । प्रदेश सरकार तथा नगरपालिकाको सहयोगमा सेवाहरु थप्ने तयारी गरेको हो ।

नगरबासीले स्थानीय स्तरमै स्वास्थ्य सेवाहरु सहज ढङ्गले लिन सकुन् भनेर सेवाहरु विस्तार गर्दैछौ । भौतिक संरचना पनि एउटा आधार हो । विरामीको विश्वास जित्न तथा आत्मबल बढाउन भौतिक संरचना अनि चिकित्सकको व्यवहारले पनि प्रभाव पार्दछ । नगरपालिका भित्र रहेका अधिकाशं स्वास्थ्य संस्थाहरुको पुननिर्माण भैसकेका छन् । भौतिक संरचनासँगै क्रमिक रुपमा सेवा विस्तार गरिने उहाँले बताउनुभयो ।

अन्यौलको भूमरीमा स्वास्थ्य संस्थाको पुननिर्माण  

गोर्खा भुकम्पले धादिङको २८ वटा स्वास्थ्य संस्था पूर्ण रुपमा क्षतिग्रस्त बन्यो । १७ वटामा भने आंशिक क्षेति पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । तर ६ वटा मात्र स्वास्थ्य चौकीको पक्की भवन बनेका छन् । कतिपय स्वास्थ्य संस्था अस्थायी (एचभाबद) भवनमा छन् भने केहिका भवन निर्माणाधिन अवस्थामा छन् । पाँच वर्ष भन्दा बढी वितिसक्दा पनि भुकम्पले ढलेका अधिकाशं स्वास्थ्य संस्थाका भवनहरु अझै उठेका छैनन् ।

भवन पुननिर्माण गर्ने जिम्मा लिएका संस्थाहरु बेखवर छन् । स्थानिय संरचनापछि पालिकासँगै समन्वय हुने कारण स्वास्थ्य संस्थाका पुननिर्माणका विषयमा स्वास्थ्य कार्यालयसँग पनि विस्तृत जानकारी नभएको वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले बताउनुभयो । स्वास्थ्य संंस्था स्थानीय तह अन्तर्गत पर्दछ । स्थानीय संरचना अघि समन्वय हुने गरेपनि हाल स्वास्थ्य संस्थाका पुननिर्माणका विषयमा जानकारी मात्रै आउने गरेको उहाँले बताउनुभयो ।

स्थानीय संरचना भन्दा अगाडि नै भवन बनाउने जिम्मा लिएका संस्थाहरुको पुरा विवरण न पालिकासँग छ । न स्वास्थ्य कार्यालय तथा आयोजना कार्यान्वयन इकाइ लगायतसँग नै छ । उनीहरु नै एक आपसमा अल्मलिएका छन् । तर बन्न बाँकी रहेका अधिकाशं स्वास्थ्य संस्थाका भवन भारतिय दुतावासको सहयोगमा बन्ने भनिएकाहरु अलपत्र परेका हुन् ।

 

जिल्लामा रहेका स्वास्थ्य संस्थाको पुननिर्माणका विषयमा स्वास्थ्य क्षेत्र तथा पुननिर्माणमा काम गरिरहेकाहरुनै अन्यौलमा छन् । व्यक्तिगत निजि आवाजको पुननिर्माण तथा केहि सडकका काम जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार धादिङले गरिरहेको निमित्त आयोजना प्रमुख राकेशराज मिश्रले बताए । तर भुकम्पले भत्किएका स्वास्थ्य संस्थाहरुको पुननिर्माणका विषयमा जानकारी नभएको उहाँले बताउनुभयो ।

वर्षाैदेखि सेवाग्राहि तथा स्वास्थ्यकर्मीले भवन अभावका कारण समस्या भोगिरहेका छन् । तर बजेट नआइसकेको कारण स्वास्थ्य संस्थाका भवन बन्न नसकेकोे जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन धादिङका आयोजना प्रमुख लिला खतिवडाले बताउनुभयो । स्वास्थ्य संस्थाहरुको भवन पुननिर्माणमा ढिलाई भएकै हो ।

भारतिय दुतावासले लगानी गर्ने भनिएको भवन बन्ने तयारीमा छन् । उनले भने– इन्डियन कन्सल्टेन्टमा इस्टिमेट पठाइएको छ । उनीहरुले चेकजाँज गरेपछि यस वर्षबाट भवन निर्माणको काम अगाडि बढ्छ । भुकम्पको समयमा स्वास्थ्य मन्त्रालयले डाइरेक्ट समन्वय गरेका कारण जिल्लामा कुन संस्थाले कहाँका स्वास्थ्य संस्था भवन निर्माण गर्ने बारे अन्यौल भएको समेत उहाँले बताउनुभयो।

भवन अभावका कारण स्वास्थ्य संस्थाले समस्या झेलिरहेका छन् । स्वास्थ्य सेवा गुणस्तरमा समेत प्रत्यक्ष प्रभाव पारेको छ । जोखिमयुक्त भवन तथा कच्ची भवनबाट प्रवाह भैरहेको सेवाले न चिकित्सक खुषी छन्, न त विरामी सन्तुष्ट । विरामीको उपचार गर्ने स्वास्थ्य संस्थाको भवन नबन्दा आफै विरामी बनेका छन् ।

उनीहरु पक्की भवनमा खुषीले दरिलो सेवाको पर्खाइमा छन् । तर पुननिर्माणको जिम्मा लिएकाहरु भने बेखवर छन् । जिम्मा लिएकाहरुको पर्खाइले आम नागरिक थाकिसकेका छन् । विकल्पको बाटो रोज्ने वा जिम्मा लिएकाहरुबाट छिट्टै पुननिर्माण गराउन ढिला भैसकेको छ । त्यसैले, सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

 

Facebook Comments