
वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ का चेपाङ परिवारलाई राहत वितरण गरेको छ । मितेरी फाउण्डेशन चितवन, नेश्नल माईक्रो फाईनान्स तथा काठमाण्डौंमा बसोबास गर्ने व्यक्तीहरुले राहात सामाग्री वितरण गरेको वडा सदस्य रामाजी चेपाङले जानकारी दिनुभयो ।
जिवाङ, गोठे भञ्ज्याङ, साँचा, भालिङटार र याव्राङका १ सय ५० घरधुरीलाई १/१ बोरा चामल, दाल, नुन लगायतका खाद्ययन्न सामाग्री वितरण गरेको वडा सदस्य चेपाङले बताउनुभयो । यस्तै कुपोषित वालवालिका रहेको घरलाई भने २ बोरा चामल वितरण गरेको उहाँले बताउनुभयो । हिजो मात्रै धादिङवेशींका व्यवसायी, गैरसरकारी संस्था, मितेरी फाउण्डेशनले राहत सामाग्री वितरण गरेको थियो ।
राहत वितरण नगर्न गाउँपालिकाको अनुरोध
यता चेपाङ परिवार भोकभोकै जिवन निर्वाह गरिरहेको भन्ने समाचार प्रति बेनिघाट रोराङ गाउँपालिकाले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । कोरोना संक्रमणको कारण रोजगारी गुमाई वडा नम्बर ८ का चेपाङ परिवारले भोकभोकै जीवन विताईरहेको भन्ने समाचार प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै ध्यानकर्षण भएको जनाएको हो । महामारीको समयमा कसैले पनि भोकभोकै जिवन निर्वाह गर्न नपरोस भनेर गाउँपालिका सँधै चनाखो भई राहत वितरण गरिरहेको जनाएको छ । वडा नम्बर ८ का चेपाङ परिवारलाई ४५ क्विन्टल चामलको व्यवस्थापन गरिसकिएको जानकारी गराउनचाहन्छौं प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।
महामारीको समयमा खानाबाट वञ्चित परिवारलाई उचित समयमै खाद्यन्न व्यवस्थापनको लागि विभिन्न सहयोगी दाताहरुलाई गाउँपालिका सँग समन्वय गरि एकद्वारा प्रणालीबाट राहत वितरण गर्ने भएकाले गाउँपालिकाको अनुमति विना कसैले पनि राहत वितरण नगर्न नगराउनुहुन सबैमा अनुरोध छ सूचनामा भनिएको छ ।