
विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धी जिल्ला विपद जोखीम न्यूनिकरण तथा व्यवस्थापन समितिको वैठक बसेको छ ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको अध्यक्षतामा बसेको वैठकले विभिन्न निर्णय गरेको छ ।
विपदको समयमा सडक मार्गहरुमा हुन सक्ने क्षती एवं बाटो अवरुद्ध भएको अवस्थालाई मध्यनजर राख्दै आवश्यक उपकरण तथा जनशक्तीहरु तयारी अवस्थामा रहन सडक डिभिजन कार्यालयलाई अनुरोध गर्ने, उद्धार राहत वितरणमा कठिनाई आउने भएकाले स्थानिय तहलाई अवरुद्ध बाटो खुलाउन उपकरण र जनशक्ती तयारी अवस्थामा राख्न अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै वैठकले खनिवासस गाउँपालिकाको सिङ्ला माविको भवन माथी रहेको ढुङ्गा तत्काल सुरक्षीत रुपमा व्यवस्थापन नगरिएको ठुलो जनधनको क्षती हुने देखिएकाले सेना र प्रहरी परिचालन गर्न समनवय गर्ने, ढुङ्गा फुटाउन र अन्य व्यवस्थापनको लागि खनिवासले गर्ने निर्णय भएको छ।
वैठकले मनसुनजन्य विपदबाट बच्न जनचेतना मुलक कार्यक्रम अघि बढाउने, पूर्व तयारी र प्रतिकार्यको लागि रेडक्रस, सरकारी तथा गैर सरकारी संस्थाहरु सम्मिलित उपसमिति गठन गर्ने उद्धार, रातह र प्रतिकार्यको लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै कोरोना भाईरसको संक्रमण फैलिन नदिन सचेतना बढाउने लगायतका निर्णय पनि वैठकले गरेको छ ।