२६ जेठ,धादिङ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर पुस्तक बिक्री वितरण नगर्न र विक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ ।

केही निजी पुस्तक प्रकाशकले नया संस्करण उल्लेख गरी नेपालको पुरानै नक्सा छापेर पुस्तक बिक्री वितरण गरिरहेको जानकारी पाए पछि मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिनुभएको हो ।

पाठ्यक्रम विकास तथा मुल्याङकन परिषदको बुधबार सम्पन्न ८८ औं बैठकमा मन्त्री श्रेष्ठले यसरी पुस्तक बिक्री वितरण गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन नमाने कानुन अनुसारको कारबाही प्रकृया अघि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखेर नयाँ पुस्तक बिक्री गर्नेमाथि कानुनअनुसार कडा कारबाही हुने बताएको छ । यसै गरी अधिकांश बिक्रेताले नेपालको पुरानै नक्सा उल्लेख गरी पुस्तक बिक्री वितरण गरेको पाठ्यक्रम विकास केन्द्रले   जनाएको छ । नयाँ शैक्षिक सत्र सुरु हुन केहि समय मात्र बाँकि रहेको हुँदा विभिन्न जिल्लाहरुमा विद्यालय तहका पाठ्यपुस्तकहरु धमाधम विक्रि वितरण भइरहेको छ ।

Facebook Comments