भाद्र १४ गते नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बंगैचामा भएको आईचर दुर्घटनाको विषयलाई लिएर नीलकण्ठ नगरपालिकाको कर्मचारीद्धारा अमर्यादित तवरले धम्काएको भिडियो प्रति धादिङ अस्पतालले भ्रत्सना गरेको छ ।

बुधबार अस्पतालले विज्ञप्ती निकाल्दै नगरपालिकाको कर्मचारी निलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोईरालाद्धारा अस्पतालका अध्यक्ष महेन्द्र धमलालाई अमर्यादित तवरले धम्काएको भिडियो बनाई टिकटकमा राखी सेवाग्राही वर्गमा नकरात्मक सन्देश प्रवाह गर्न गरिएको हर्कत प्रति खेद प्रकट गरेको हो ।

दुर्घटना भएको भाद्र १४ गते ५ जना घाइते अस्पताल ल्याइदैछ भन्ने प्रहरीले जानकारी गराएको र त्यस समयमा आकस्मिक कक्षमा २ जना चिकित्सक र २ जना पारामेडिक्सहरु ड्युटिमा रहेको र तत्काल खबर गरी ७ जना चिकित्सकहरु उपस्थित भएको विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।

तर अस्पतालको आकस्मिक कक्षमा चिकित्सकहरु नभएको, उपचारमा लापरवाही गरेको जस्ता आरोप लगाई सल्लाहाकार कोईरालाले अस्पतालका अध्यक्ष धमलालाई अमर्यादित तबरले फोन मार्फत धम्काएको र जसले गर्दा सेवा प्रति समर्पित चिकित्सकहरुको मनोवल खस्कने गरी कुप्रचार गरेको अस्पताले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

ठूलो संख्यामा रहेको घाइतेहरुको व्यवस्थापनको लागि पर्याप्त संख्यामा चिकित्सक आकस्मिक शाखामा आई पुग्न ५—१० मिनेटको समय लाग्ने कुरालाई समेत नजरअन्दाज गरी घाइतेहरुको व्यवस्था तथा उपचार गरेको विषयलालाई पूर्ण रुपमा बेवास्ता गरी सेवाग्राही वर्गमा भ्रम फैलाउने उद्देश्यले भिडियो बनाई टिकटकमार्फत सार्वजनिक हुदाँ यस्ता किसिमको भ्रममा नपर्न सम्पूर्ण सेवाग्राही वर्ग, नागरिक समाज र आम संचार जगतमा हार्दिक अनुरोध गर्दछु, विज्ञप्तीमा भनिएको छ ।

भाद्र १४ गते ज्वालामुखी गाउपालिका वडा नम्बर ५ खरीबाट धादिङबेसी तर्फ आउदै गरेको बा ३ ख ५६२३ नम्बरको आइचर ट्रक बगैचामा दुर्घटना भएको थियो । दुर्घटनामा परी ३५ जना घाइते भएका थिए ।

Facebook Comments