धादिङको नीलकण्ठ नगरपालिका–११ गोलाभञ्ज्याङस्थित बिरूडा सामुदायिक वन क्षेत्रबाट दुई नाल अवैध भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उक्त क्षेत्रमा केही व्यक्तिले अवैध हातहतियार लुकाईछिपाई राख्ने तथा बेला–बेलामा जंगली जनावरको अवैध शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीले हिजो सोमबार साँझ निगरानी तथा खानतलासी गर्ने क्रममा नीलकण्ठ नगरपालिका–११ गोलाभञ्ज्याङ निवासी ३३ वर्षीय श्यामबहादुर शाक्यले बारुद भरेर फायरका लागि तयारी अवस्थामा लुकाई राखेको एक थान अवैध भरुवा बन्दुक बरामद गरेको थियो।

त्यसैगरी नीलकण्ठ नगरपालिका–९ पाल्पाभञ्ज्याङ निवासी ३२ वर्षीय सन्तबहादुर गुरुङले आफ्नो घरबाट ल्याई सामुदायिक वन नजिकैको झाडीमा लुकाई राखेको अर्को एक थान अवैध बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएका दुई नाल अवैध भरुवा बन्दुकसहित दुवै जनालाई स्थानीयको रोहबरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला अदालत धादिङबाट दुवै अभियुक्तलाई नौ दिनको म्याद थप अनुमति प्राप्त भई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीले घटनास्थलबाट दुई नाल अवैध भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

Facebook Comments