नुवाकोटको बेलकोटगढी नगरपालिका–१, शेरामा अवस्थित बेलकोट भञ्ज्याङ माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा ऐतिहासिक सफलता हासिल गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा विद्यालयबाट सहभागी ११ जना विद्यार्थीमध्ये सबै ११ जना उत्तीर्ण (शतप्रतिशत) हुन सफल भएका छन्।

उत्तीर्ण विद्यार्थीमध्ये ६ जनाले ‘ब्’ ग्रेड प्राप्त गरेको विद्यालयले जनाएको छ। विद्यालय स्थापनायतोकै इतिहासमा यो सबैभन्दा उत्कृष्ट नतिजा भएको बताइएको छ । विद्यालयका प्रधानाध्यापक सुमन अधिकारीका अनुसार ग्रामीण क्षेत्रमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गए पनि विद्यालयले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरी निरन्तर मेहनत गर्दै आएको परिणामस्वरूप यस्तो गौरवपूर्ण सफलता हासिल भएको हो ।

उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त व्यक्त गर्नुहुँदै प्रधानध्यापक अधिकारीले विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि अहोरात्र खटिने शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालयप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो ।

पछिल्ला वर्षहरूमा विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक वातावरणको सुदृढीकरण तथा अनुशासित शिक्षण–सिकाइ प्रक्रियाले विद्यालयलाई जिल्लामै उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित गर्न मद्दत पुगेको स्थानीयवासीहरूको भनाइ छ । कक्षा १२ को यस ऐतिहासिक उपलब्धिले विद्यालय, अभिभावक र स्थानीय समुदायमा उत्साह थपेको छ भने आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास समेत बढाएको छ ।

Facebook Comments