नेकपा एमालेले विधानमा सात उपाध्यक्ष राख्ने सुझाव अनुमोदन गर्ने भएको छ । विधान महाधिवेशन अघि प्रस्तावित एमालेको विधानमा ३ उपाध्यक्ष राख्ने मस्यौदा गरिएको थियो ।

मस्यौदामाथि केन्द्रीय कमिटी बैठकमा भएको छलफलमा अधिकांश सदस्यहरुले सात उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।

आईतबारको केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष केपीशर्मा ओलीले उक्त सुझाव राम्रो भएको भन्दै त्यसलाई केन्द्रीय कमिटीबाट निर्णय गरेर अघि बढाइने जानकारी दिनुभयो । यस्तै अध्यक्ष ओलीले आफुले २ पटक गरेको संसद विघटनको बचाउ गर्नु भएको छ ।

बैठकमा जवाफ दिने क्रममा अध्यक्ष ओलीले ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन नसक्ने भन्दै आफ्नो गलत कदमको बचाउ गर्नुभयो । अध्यक्ष ओलीले माओवादीसँगको पार्टी एकता सोचि विचारी नै गरेको बताउँदै तर एकता भंग गर्न षड्यन्त्र भएको र त्यसलाई चिर्न नसक्दा विघटन रोक्न नसकिएको उहाँको भनाइ थियो ।

यसअघि एमाले बैठकमा समूहगत रुपमा तीन दस्तावेजमाथि भएको छलफलमा संसद विघटन, पार्टी एकता कायम रहन नसक्नु जस्ता विषय राजनीतिक प्रतिवेदनमा प्रस्ट नआएको भन्दै प्रश्न गरेका थिए ।

Facebook Comments