नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा घोषणामा युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले चासो देखाउनुभएको छ ।

हिजो बङ्गलादेशसँगको खेलमा १/१ को बराबरी खेल्दै नेपाल साफ च्याम्पियनसिप फुटबलमा पहिलो पटक फाइनल प्रवेश गरेपछिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले साफ फुटबल खेलपछि आफू नेपाली टिमको प्रशिक्षकको भूमिकामा नरहने घोषणा गर्नुभएको थियो ।

आफूले पनि सञ्चारमाध्यममा अल्मुताइरीको राजीनामाको बारेमा सुनेको उल्लेख गर्दै मन्त्री गहतराजले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीसँगको छलफल र प्रशिक्षक अल्मुताइरीको धारणा सुनेर आवश्यक निणर्य लिइने जानकारी दिनुभयो ।

मुख्य प्रशिक्षक अल्मुताइरीसँग हिजो मात्रै बधाई साटासाट गरिएको जानकारी दिँदै उहाँले नेपाली फुटबलले सफलता हात पार्दै आएको बेलामा राजीनामाको घोषणा गरिनु दुखद भएको टिप्पणी गर्नुभयो ।

अल्मुताइरीले नेपाली केही सञ्चारमाध्यमले आफ्नो स्वार्थका लागि विवादमा तानेको भन्दै आक्रोश व्यक्त गर्दै आउनुभएको छ ।

Facebook Comments