तिहार, छठ तथा नेपाल सम्वत लगायतका चाडपर्व सभ्य र सुरक्षित भएर मनाउन जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाबासीलाई अनुरोध गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण हालसम्म पनि कायमै रहेको र चाडपर्वमा अवान्छित कार्यहरु हुन सक्ने भएकोले प्रशासनले आज एक सुचना जारी गर्दै चाडपर्व मनाउदा सभ्य र सुरक्षित भएर मनाउन अनुरोध गरेको हो ।

सुरक्षित र शान्तिपूर्वक चाडपर्व मनाउनु हामी सबैको जिम्मेवारी हो भन्दै प्रशासनले सरकारबाट जारी भएको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गरि पुजापाठ गर्न, मठमन्दिर, गुम्बा लगायतका स्थलहरुमा भिडभाड नगर्न आग्रह गरेको छ । यस्तै पटका, आतिसबाजी जस्ता प्रज्ज्वलनशील एवं विष्फोटक पदार्थहरु उत्पादन, विक्रीवितरण, ओसारपसार र प्रयोग नगर्नसमेत अनुरोध गरेको छ ।

जुवा, तास, लङ्गुरबुर्जा आदि जस्ता पैसा राखेर खेलिने सट्टेबाजीका खेलहरु खेल्ने खेलाउने कार्य नगर्न, मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरि होहल्ला, झै झगडा जस्ता कार्य गरि शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि काम नगर्न प्रशासनले सुचनामार्फत निर्देशन दिएको छ ।

दैशीभैलो खेल्ने सम्बन्धमा भने सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरि राति ८ः३० बजेसम्म मात्र सभ्य भएर दैशीभैलो खेल्न भनेको छ । यस्तै सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न/नगराउन समेत प्रशासनले सुचनामार्फत भनेको छ ।

Facebook Comments