
“मेरो गणना, मेरो सहभागीता” भन्ने नाराका साथ कार्तिक २५ गतेदेखी संञ्चालन भएको जनगणना आजदेखी सकिएको छ । छिटपुट घटना बाहेक धादिङमा सौहार्द पूर्ण वातवरणमा जनगणना कार्य सम्पन्न भएको जनगणना कार्यालय धादिङले जनाएको छ ।
अहिले सम्म अनलाईन प्रणालीबाट ५० हजार घर परिवारको तथ्याङ्क प्राप्त भएको जनगणना कार्यालय धादिङका प्रमुख णराज तिवारीले जानकारी दिनुभयो । ईन्टरनेटको असुविधाको कारण पुरा तथ्याङ्क आउन भने केही समय लाग्ने उहाँले बताउनुभयो । घरपरिवार छुटेको, आफ्नो विवरण छुटेको भन्दै जनगणना कार्यालय धादिङको फेसबुक पेजमा आएका गुनासाहरुलाई पनि सम्बोधन गर्दै जनगणना गरिएको प्रमुख तिवारीले बताउनुभयो ।
आफ्नो जाती र धर्मको संख्या बढाउन माग गर्दै गणकहरुलाई दवाव समेत दिए : जनगणना कार्यालय धादिङका प्रमुख तिवारी
विभिन्न संघ संस्था, जाती तथा धर्म विशेष केही समुदायले आफ्नो संख्या बढाउन दबाव पनि आएको प्रमुख तिवारीले बताउनुभयो ।
केही स्थानमा गणकहरुलाई हाम्रो जाती, धर्मको संख्या बढाएर लेख्नुपर्छ भन्दै दवाव दिएको भएपनि स्थलगत रुपमै समस्याको समाधान गरिएको उहाँले बताउनुभयो ।
तथ्याङ्क संकलन ऐन २०१५ अन्र्तरगत सम्बन्धीत परिवार र व्यक्तीले मात्रै हेर्न पाउने भएकाले उत्तरदाताले नभनिकन बाहिरि व्यक्ती भनेका कुनै पनि कुरा उल्लेख गर्न नसक्ने भनेर सम्झाई बुझाई गर्ने काम गरेको उहाँले बताउनुभयो ।
धादिङ जिल्लामा १ सय २८ जना सुपरिवेक्षक र ५ सय ३० जना गणकहरु परिचालन गरिएको थियो । जनगणना कार्यक्रमलाइ व्यवस्थित र प्रभावकारी बनाउन ५ वटा स्थानीय तहमा जनगणना कार्यालयहरु स्थापना गरि कार्यसम्पादन गरेको थियो ।
नेपालको पहिलो जनगणना बिक्रम संबत १९६८ मा गरिएको थियो । पछिल्लो बि.सं. २०६८ मा सम्पन्न गरिएको जनगणनामा करिब २ करोड ७० लाख व्यक्तिहरुको गणना गरिएको थियो ।