मंसिर ११ गते हुने नेपाली काँगे्रस धादिङको १४ औं जिल्ला अधिवेशनको लागि उम्मेदवारहरुले शुक्रबार उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँगे्रस धादिङको जिल्ला सभापतिको लागि भिमप्रसाद ढुङ्गाना र रामनाथ अधिकारी २ जनाले शुक्रबार उम्मेदवारी दर्ता गराएका छन् ।
धादिङमा भिमप्रसाद ढुङ्गाना र रामनाथ अधिकारीले छुटुटाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । भिमप्रसाद ढुङ्गाना प्यानलबाट उपसभापतिमा झम्क भट्ट, सेरबहादुर तामाङले उम्मेदवारी दिएका छन् भने रामनाथ अधिकारी प्यानलबाट दल बहादुर अधिकारी र गेहेन्द्र मल्लले उम्मेदवारी दिएका छन् ।
यस्तै सचिवमा ढुङ्गाना प्यानलबाट राजेन्द्र अधिकारी, राजु पाख्रिन छन् भने अधिकारी प्यानलबाट विकास श्रेष्ठ र रामकृष्ण पाण्डेले उम्मेदवारी दिएका छन् । सहसचिवमा ढुङ्गाना प्यानलबाट हरि खतिवडा र विजय पाख्रिन तामाङले उम्मेदवारी दिएका छन् भने अधिकारी प्यानलबाट नवराज तिमल्सिना र र क्रान्ति डल्लाकोटीले उम्मेदवारी दिएका छन् ।
शुक्रबार दर्ता भएका पदाधिकारीहरुको लागि भोलि मतदान हुदैछ । काँग्रेस धादिङको १४ औं जिल्ला अधिवेशनले जिल्ला सभापतिमा १ जना, उपसभापतिमा २ जना, सचिवमा २ जना, सह–सचिवमा २ जना सहित जिल्ला सदस्य ४८ जना, केन्द्रिय महाधिवेशन प्रतिनिधि अपाङ्गतर्फ १ जना, प्रदेश अधिवेशन प्रतिनिधि अपाङ्गतर्फ १ जना गरि ५७ जना जिल्ला कार्यसमिति चयन गर्नेछ ।
१४ औं जिल्ला अधिवेशनमा रामनाथ अधिकारीको उम्मेदवारी पाचौं पटक हो । यसअघि अधिकारी ४ पटकसम्म नेपाली काँग्रेस धादिङको सभापति भइसक्नुभएको छ । सबल संगठन निर्माण गर्न र वैचारिक शुद्दताको व्यवस्थाको लागि यसपटक पनि सभापतिमा उम्मेदवारी दिएको अधिकारीले बताउनुभयो ।
यस्तै भिमप्रसाद ढुङ्गानाको जिल्ला सभापतिमा उम्मेदवारी यो दोस्रो पटक हो । रेडियोधादिङसँगको कुराकानीमा सभापतिका उम्मेदवार भिमप्रसाद ढुङ्गानाले पार्र्टीमा पारदर्शीता कायम गर्न, संगठनलाई सुदृढीकरण गर्न उम्मेदवारी दिएको बताउनुभयो ।
यस्तै पार्टीमा नाता गोताको हाबी भएको दाबी गर्दै ढुङ्गानाले त्यसबाट पार्टीलाई मुक्त गराइ पार्टीकै लागि योगदान दिने कार्यकर्ताको कामको मुल्याङ्कन गर्दै सम्मान गर्न तथा नेपाली काँग्रैसलाई बलियो पार्टीको रुपमा स्थापित गर्ने उद्देश्य रहेकोे बताउनुभयो ।