नेकपा एमालेको दशौं महाधिवेशनको दशौं हजार नेता कार्यकर्ताका बीचमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभयो । महाधिवेशनमा देशभरका नेता कार्यकर्ताको सहभागिता रहेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र, राप्रपा , जनमोर्चा लगाएत दलका पार्टीका नेताहरू पनि सहभागि रहेका थिए ।

महाधिवेशन उद्घाटन शत्रलाइ सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनाबबाट आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै अध्यक्ष ओलीले हजारौ जनयुद्धका लडाकुहरू अब एमालेमा प्रवेश गर्ने दाबी गर्नुभयो ।

सबैको सहयोगमा आगामी चुनाबमा पहिलो पार्टी बन्ने र बाँकी रहेका बिकास निर्माणका काम पनि सम्पन्न गर्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले आफु सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त पनि सुनाउनुभएको थियो । देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको भन्दै उहाँले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने पनि बताउनुभयो ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले बर्तमान सरकारको आलोचना भने खासै गर्नुभएन । प्रधानमन्त्री देउवालाइ कार्यक्रममा निम्तो गरेर सरकारको टिप्पणी गर्नु शोभनिय नहुने बताउनुभएका अध्यक्ष ओलीले सरकारले चाहेर पनि काम गर्न नसकेको हुन पनि सक्ने बताउनुभयो । महाधिवेशन सफल भएको दाबी गर्दै अध्यक्ष ओलीले देशभरबाट सहभागि भएको र सघाएकोमा नेता कार्यकर्तालाइ धन्यवाद भन्नुभएको थियो ।

सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताउनुभएको छ ।  एमालेको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताउनुभयो ।

देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले मुलुकमा देखिएका सबै समस्याको संवाद, छलफल र संविधान मार्फत समाधान निकाल्ने आफ्नो चाहना भएको पनि धारणा राख्नुभयो ।

सबै दल मिलेर नयाँ संविधान ल्याएको भन्दै प्रधानमन्त्री देउवाले यसलाई बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको भएको बताउनुभयो । संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले जिम्मेदार भएर भूमिका खेल्नुपर्ने पनि उहाँको भनाइ छ ।

यस्तै एमालेको महाधिवेशनलाइ बिभिन्न राजनितिक दलका नेताहरुले पनि सम्बोधन गरेका छन् । एमाले महाधिवेशनमा शुभकामना मन्तव्य व्यवक्त गर्दै नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकता अनिवार्य आवश्यकता भएको बताउनुभयो । नेता पोखरेलले राष्ट्रिय स्वाधिनता र विकासमा मतभेद हुन नहुने धारणा राख्दै आवश्यकताले आफुहरूलाइ त्यो स्थानमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सम्बोधनका क्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेको भन्दै एमाले अध्यक्ष एवं केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो । शुभकामना मन्तव्य दिदैं ठाकुरले मधेश आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयनका लागि गरेको प्रयासका लागि ओलीलाई धन्यवाद दिनुभएको हो ।

यस्तै राप्रपा अध्यक्ष कमल थापाले महत्वपूर्ण केही कामका लागि मुलुकले केपी शर्मा ओली र नेकपा एमालेलाई स्मरण गरिरहने बताउनुभयो । सिके राउतको पृथकतवादी आन्दोलन , विप्लव माओवादीको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु तथा लिम्पियाधुरा सहितको चुच्चे नक्सालाई संविधानको अङ्ग बनाउनु ओलीको सफलता भएको थापाको भनाइ छ ।

यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु आपसमा मिल्न नसक्दा मुलुकमा बाह्य शक्तिले खेलिरहेको बताउनुभयो । देशभित्र एकले अर्को दललाई होच्याउने काम भएकाले बाह्य शक्तिले खेलिरहेको नेता केसीको भनाइ थियो ।

 

Facebook Comments