सिआई टेकबहादुर गुरुङ पत्रकारिता पुरस्कारबाट धादिङ अपडेटका सम्पादक दोलख गुरुङ सम्मानित हुनुभएको छ । तमू ल्होसार २०७८ को उपलक्ष्यमा दोलख गुरुङ सम्मानित हुनुभएको हो । गुरुङले नगद पाँच हजार सहित सम्मानपत्र प्राप्त गर्नुभएको छ ।
तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरि विभिन्न सञ्चार माध्यममा काम गर्ने अन्य सात पत्रकार पनि पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा वरिष्ठ पत्रकार उजीर मगर पूर्वप्रधानसेनापती छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । भने सोही पुरस्कारबाट मर्दी न्युज डटकमका खड्गजंग गुरुङ पनि सम्मानित हुनुभएको छ ।
दुवैले जनही २० हजार एक रुपैंया सहित सम्मान पत्र पा्रप्त गर्नुभएको छ । सुश्री भद्राकुमारी घले पत्रकारिता पुरस्कारबाट ढोरबराही एफएमकी समाचार प्रमुख ममता गुरुङ, तमू ल्होसार मूल आयोजक समिति पत्रकारिता पुरस्कारबाट गोर्खापत्र राष्ट्रिय दैनिकका फोटो पत्रकार सुजन गुरुङ, आदिकवी हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो नेपालको क्षेत्रीय प्रशारण पोखरामा कार्यरत इन्दिरा गुरुङ, लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट बुद्ध दर्शन टिभी नवलपुरकी समाचार वाचिका चन्दा गुरुङ पुरस्कृत भएका छन् । पुरस्कृत सवैले जनही दस हजार एक रुपैंया प्राप्त गर्नुभएको छ ।
कार्यक्रमकै अवसरमा गुरुङ न्युज डटकमको लोकार्पण पनि गरिएको छ । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै जारी ल्हो (वर्ष) भित्र विभिन्न क्षेत्रमा प्रगति हासिल गरेका व्यक्तित्वको सफलताको यात्रालाई समेटेर गुरुङ न्युज डटकम प्रकाशन गर्दै आइरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तमू ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले सरकारले तमू ल्होछारको दिन सार्वजनिक विदा दिनुपर्ने माग गरेका थिए ।