
पौष २१, धादिङ।
विलिभर्स ईस्टर्न चर्च धादिङवेशीले आज जिल्ला अस्पताल धादिङलाई ब्ल्याङ्केट प्रदान गरेको छ । अस्पतालमा भर्ना भएर बस्ने विरामीहरुलाई लक्षित गर्दै ३० ओटा ब्ल्याङ्केट प्रदान गरेको हो । आज एक कार्यक्रमको आयोजना गरि चर्चका फादर सन्तबहादुर गुरुङले जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिेन्डेट डा.गौरव महतोलाई हस्तान्तरण गर्नु भएको हो ।

जिल्ला अस्पताललाई भनेर सरकारी बजेट विनियोजन नहुने भएकाले यस्ता सहयोगले अस्पताल प्रशासनलाई धेरै राहत मिल्ने गरेको मेडिकल सुपरिटेन्डेन्ट डा.महात्तोले बताउनुभयो । अस्पताल प्रशासनको आवश्यकतालाई मध्यनजर गर्दै सहयोग प्रदान गरेको प्रति विलिभर्स चर्च धादिङका सम्पूर्ण पदाधिकारीहरुलाई उहाँले धन्यावाद समेत व्यक्त गर्नुभयो । आफुहरुसँग धेरै रकम भएर भन्दा पनि धेरे सहयोगी हृदय भएका चर्चका दिदि वहिनि, दाजुभाईहरुद्वारा संकलित रकमले खरिद गरि उक्त ब्ल्याङ्केट प्रदान गरिएको चर्चका फादर सन्तबहादुर गुरुङको भनाई छ । प्रभू येशूको प्रेमलाई आत्मसाथ गर्दै आम मानिसलाई प्रेम गर्नुपर्छ भन्ने सन्देश प्रवाहको लागि पनि यस्ता सामाजिक अभियान संञ्चालन गरिएको उहाँको भनाई थियो ।

विलिभर्स चर्च धादिङले ख्रिष्टमसको अवसरमा पौष ७ गते जिल्ला अस्पताल धादिङमा भर्ना भएर बसेका १६ जना विरामीहरुलाई फलफूल, हर्लिक्स र पछ्यौउरा तथा पौष १२ गते निलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानीका २७ जना एकल महिलाहरुलाई हर्लिक्स र न्यानो कपडा वितरण गरेको थियो । विलिभर्स चर्च धादिङले कसैको सहयोग विनानै यस्ता सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।