
पुस ३०, धादिङ ।
धादिङ जिल्लामा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका अधिकांश उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाएका छैनन् । खर्च विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालयले दिएको समयसिमा सकिदा पनि सबै उम्मेदवारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार हालसम्म प्रत्यक्ष तर्फका २९ जना उम्मेदवारले चुनावी खर्च विवरण बुझाएकोमा २ जना उम्मेदवारले खर्च विवरणको लागि सबै पकृया पुरा नगर्दा फिर्ता पठाइएको बताइएको छ । २ जना उम्मेदवारको विवरण फारम फिर्ता भएपछि कार्यालयमा जम्मा २७ जना उम्मेदवारले मात्र खर्चको विवरण बुझाएका छन् ।
निर्वाचन परिणाम घोषणा भएसँगै दल र तिनीका प्रतिनिधिले निर्वाचन परिणामको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ । तर ३५ दिनको म्याद सकिदा पनि धादिङका आधाभन्दा बढी उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छैैनन् । जिल्लामा प्र्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ५८ जनाले प्रत्यक्षतर्फको उम्मेदवारी दिएका थिए जसमा २७ जनाले मात्र खर्च विवरण बुझाएका जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
धादिङका १३ जना स्वतन्त्र उम्मेदवारले शुन्य खर्चको विवरण बुझाएका छन् । यस्तै पेश भएका खर्च विवरण हेर्दा न्युनतम ४१ हजारदेखि अधिकतम २३ लाख ४५ हजार ५ सय रुपयाँसम्म खर्च भएको देखिएको छ ।