
२२ फागुन
एजेन्सि– चीनमा संसदीय भूमिका निर्वाह गर्ने, छायाँ सरकारको रुपमा रहेको नेश्नल पिपुल्स कंग्रेस (एनपीसी) ले ७ प्रतिशत भन्दा बढि सैन्य खर्च बढाउने घोषण गरेको छ ।
राष्ट्रपति सी जिन्पिङलाई तेस्रो कार्यकाल शासन गर्न स्वीकृति दिनुअघि एनपीसीमा सैन्य खर्चसम्बन्धी घोषणा भएको हो । हाल चीनको सैन्य बजेट झण्डै २२५ अर्ब डलर रहेको छ । अघिल्लो दशकमा चीनको सैन्य बजेट प्रत्येक वर्ष झन्डै १० प्रतिशतले बढाएको थियो । चीनको भन्दा अमेरिकाको सैन्य बजेट ४ गुणा बढी छ ।
चीनिया उच्च अधिकारीहरुले “चीनलाई नियन्त्रण गर्ने र दबाउने जस्ता बाह्य प्रयासहरू तीव्र गतिले बढिरहेको“ बताएका छन् । त्यसकारण देशको सशस्त्र बलहरूले सैन्य तालिम र तयारीलाई सबैतिर सुदृढ पार्नुपर्नेमा जोड दिएका छन् । वार्षिक रूपमा आयोजना हुने एनपीसीको बैठकलाई महत्वपूर्ण मानिन्छ ।
यस बैठकबाट कम्युनिस्ट पार्टी र राज्यका विभिन्न निकायहरूलाई नयाँ आकार दिने भएकाले यसलाइ विशेष मानिएको छ । उक्त बैठकमा चीनले यस वर्षको ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई हासिल गर्ने घोषणा समेत गरेको छ । एनपीसीको बैठकले चीनमा सी जिन्पिङको नेतृत्वको निरन्तरतालाई औपचारिकता दिनेछ । सी चीनको राष्ट्रपति र सैन्य प्रमुखमा पुनः निर्वाचित हुनेछन् ।