चैत्र ३, २०७९
धादिङ – नयाँ उपराष्ट्रपति चयनका लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ । २०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि सकिएसँगै नयाँ उपराष्ट्रपति चयन गर्न लागिएको हो । आज हुने उपराष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) बाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहाय प्रसाद यादवको उम्मेदवारी परेको छ ।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद र प्रदेशसभाका गरी कुल ८८२ मतदाता रहेको छ । शाक्य र रामसहाय यादव प्रमुख प्रतिस्पर्धीको रूपमा रहेका छन् । १० दलीय गठबन्धनमा उपराष्ट्रपतिमा सर्वसम्मत हुन सकेको छैन । गठबन्धनमा रहेका लोसपा, जनमत र नाउपाले जनमतकी ममता झालाई छुट्टै अघि सारेका छन् । कुल मतभार ५२ हजार ६२८ रहेकोमा निर्वाचित हुन २६ हजार ३१४ मत आवश्यक पर्नेछ । मतदान सकिएसँगै आजै साँझ मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।