माघ १५, धादिङ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा्विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । तत्काली महानिर्देशक शर्माले ४ करोड २९ लाख ५४ हजार १ सय २३ रुपैयाँ भ्रष्टाचार गरेको दावी सहित अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो ।

चुडामणि शर्माले सरकारी जागिर खाए यता ३ करोड ६३ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको देखिएको तर उनी र उनका आफन्तको  नाममा ७ करोड ९३ लाख २७ हजार रुपैयाँ भन्दा धेरै सम्पत्ति देखिएको अख्तियारले जनाएको छ ।

शर्माको ४ करोड २८ लाख ५४ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको तथा सम्पत्ति विवरण पनि अमिल्दो र अस्वभाविक देखिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

शर्माकी श्रीमती र छोराछोरीको नाममा पनि विभिन्न बैंकमा रकम तथा शेयर रहेको, परिवारले महँगा घर तथा गाडीको प्रयोग गरेको देखिए पनि बैध आयको स्रोत नदेखिएको अख्तियारको दावी छ ।

Facebook Comments