चैत्र १४, २०७९

धादिङ – जिल्लामा रहेका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको साझा एवं मातृ संस्था धादिङ बचत तथा ऋण सहकारी संघले आफ्नो २२ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघले सदरमुकाम स्थित जिल्ला अस्पताल धादिङको प्राङगणमा बृहत खुल्ला रक्तदान कार्यक्रम गरेको छ । यस संघले स्थापना दिवसको अवसरमा यस अघिका वर्षहरुमा पनि सामाजिक तथा रचनात्मक कार्यहरु गर्ने गरेको छ । स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जना पुरुष र २३ जना महिला गरि जम्मा ५५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । यसका साथै संस्थाले रक्तदान गर्ने मानिसहरुलाइ सम्मान पत्र सहित सम्मान पनि गरेको थियो ।

वि.स.२०५७ साल चैत्र १४ गतेका दिन सहकारी अभियान्ता देव प्रसाद त्रिपाठीको अध्यक्षतामा स्थापना भएको यस संघमा धादिङ जिल्लामा रहेका ९२ वटा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु मध्ये हालसम्म ७० वटा सहकारी संस्थाहरु यस जिल्ला संघको सदस्य संस्था रहेका छन् । बाकि संस्थाहरुलाइ पनि संघमा आवद्ध गराउन संघका संचालक तथा व्यवस्थापकिय तहमा रहेका व्यक्तिहरु लागिरहेका छन् । सकेसम्म सबै संस्थालाइ सहभागी गराउने लक्ष्य संघले राखेको छ ।

धादिङ बचत तथा ऋण सहकारी संघ लि. का प्रमुख व्यवस्थापक गोकर्ण दुुवाडीका अनुसार संघले विशेष गरि संस्थाहरुका लागि स्तरीकरण कार्यक्रम सञ्चालन गरी सुरक्षित, सुशासित, र व्यवशायिक संस्था बनाउन सहजिकरण गर्ने, संस्थाहरुको व्यवसायीक तथा संस्थागत विकासका लागि क्षमता विकास कार्यक्रम संचालन, नियमित तथा ऐच्छिक बचत स्वीकार गरी अन्तर लगानी कारोबार सञ्चालन, सदस्य संस्थाहरुको लागि आवश्यक स्टेशनरी सामाग्री आपूर्ति, संस्थाहरुको अनुगमन, सुपरिवेक्षण र सुधारका लागि पृष्ठपोषण प्रदान गर्नुका साथै सदस्य संस्थाहरुको लागि आवश्यक प्राविधिक सहयोग प्रदान गर्दै आएको जानकारी दिनुभयो । धादिङ बचत तथा ऋण सहकारी संघले हालसम्म करिब १३ करोड ५० लाखको कारोवार गरेको छ ।

साथै हाल विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका कारण सहकारी संस्थामा पर्नसक्ने प्रभावहरु र सुरक्षाको लागि संस्थाले खेल्नुपर्ने भूमिकाको विषयमा सदस्य संस्थाहरुलाई जानकारी दिनको लागि हाल सदस्य संस्थाहरुलाई १ दिनको संस्था विकास तालिम निशुल्क रुपमा प्रदान गरिरहेको र जिल्लामा रहेको सबै बचत तथा ऋण सहकारीहरुको वर्तमान अवस्था पहिचानको लागि तथ्यांक संकलन र सदस्य परामर्श कार्यक्रम पनि अभियानकै रुपमा सञ्चालन गरिरहेको दुवाडीले जानकारी दिनुभयो ।

Facebook Comments