धादिङको नीलकण्ठ नगरपालिका–९ की ५० वर्षिय जुनमाया नेपालीले १० वर्ष पहिले श्रीमान गुमाउनुभयो । छोराको पनि कलेजोको अपरेशनपछि काम गर्न नसक्ने छन् । उहाँको परिवार कृषिमा निर्भर छ । तर सम्पत्तिको नाममा भएको ५ रोपनी जग्गाको खेती पनि खानेबेला नहुदै बाँदरले सखाप पारेपछि ढुंगा खाउँ कि माटो खाउँ भएको उहाँ बताउनुहुन्छ ।

‘मकैमा चमरा लाग्दैछ । तर एउटै बोट बाँकी नहुने गरी बाँदरले सखाप बनायो । दुःख ग¥यो, मल हाल्यो खेती ग¥यो, हुर्कायो । आउला खाउँला, छाक टारौला भन्ने लागेको थियो । तर बाँदरले मकै सखापै बनायो,’ नाराबाजी गर्दै गरेकी जुनमायाँले सुनाउनुभयो । बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ । मकै मात्र होइन, कुनै पनि कृषिजन्य उत्पादन बाँकी राखेको छैन । यो वर्ष पनि अनिकाल पर्ने भो, आउने ठाउँ छैन । कसरी छाक टार्ने र ज्यान बचाउने भन्ने चिन्ताले पिरोलेको छ ।’


बाँदर नियन्त्रणको माग गर्दै विगतका वर्षदेखि नै किसानहरुले आन्दोलनका कार्यक्रमहरु गर्दै आएका हुन् । यो वर्ष पनि बाँदरले नाश गरेको मकैको बोटकै माला लगाएर किसानहरु सदरमुकाम धादिङबेशीमा रहेका सरकारी कार्यालयहरुको गेट गेटमै नारा लगाउदै हिडेका हुन् । सोहि ¥यालीमा भेटिएका ८३ वर्षिय तुलबहादुर लम्साल बाँदरले पु¥याएको क्षति र बाँदर नियन्त्रणको लागि माग राखेको बताउनुहुन्छ ।

करिव १५ रोपनी जग्गाको कृषिजन्य उत्पादनले चुलोमा आगो बलेको हो । उहाँ भन्नुहुन्छ,– ‘उमेर गएको म बुढोको खेती बाँदरले सक्यो । बाँदर लेखेट्न गयो उल्टै बाँदरले लेखेट्छ । गाउँमा सबैको मकै खेती तथा फलफुल खेती बाँदरले सखापै बनायो । विउ विजन, मल पनि बेलामा पाइदैन । जिनोतिनो भएको बाली पनि बाँदरलाई भयो । किसान जता पनि मर्कामा पर्नुपर्ने, हाम्रो न जाँगिर, न त पेन्सन छ । के खाएर बाँच्नु ।’

मकैको बोटका माला लगाएर जोडतोडमा चिच्याउदै गरेकी टिका कुमारी श्रेष्ठ स्थानीय सरकारदेखि प्रदेश, संघ र कृषि क्षेत्रमा काम गर्ने सरकारी निकायले पनि बेवास्ता गरेको बताउनुहुन्छ । विगत ३/४ वर्षदेखि बाँदर आतंकको बारेमा सबैलाई जानकारी दिइएको हो । उहाँ भन्नुहुन्छ,– ‘अहिलेसम्म कुनै पहलकदमी भएन । अरुको पेट भर्न कृषिजन्य उत्पादन गर्ने किसान आफै भोकै बस्नु पर्ने दिन आयो । ५/६ सयको हुल भएर एकै चोटी बाँदर आउँछ । न धपाउन सक्नु न खेतबारी बाँझै राख्नु । खेतबारी बाँझो राख्न नपाउने भन्ने सरकार किसानले गरेको खेती नाश भैरहदा किन बोल्दैन,’ उहाँको प्रश्न छ।


खेतबारीको अन्नबाली बाँदरले खाइदिने र नाश गर्न थालेपछि किसान आजित भएका हुन् । बाँदर आतंकले हैरान बनेका किसानहरुले नाश गरेको मकै, नासपाति, अम्बा लगायतका फलफुल प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।

कृषि मन्त्रीको राजीनामा, बाँदरले पु¥याएको क्षतिको क्षतिपूर्तिको माग, किसानले लगाएको खेती उब्जनी नभए अरुले पनि के खाने जस्ता कुरामा ध्यानाकर्षण गर्दै किसानहरुले नाराबाजी गरेका हुन् । धादिङको नीलकण्ठ नगरपालिका लगायत अन्य पालिकामा पनि बाँदरले किसानको कृषिजन्य उत्पादनमा क्षति पु¥याउदै आएको छ ।

                             बाँदर नियन्त्रणमा पहल गर्छाै– वडा अध्यक्ष बराइली

बाँदर नियन्त्रणमा पहल गर्ने नीलकण्ठ नगरपालिका– ९ का वडा अध्यक्ष राजन बराइलीले बताउनुभयो । पाल्पाभञ्याङ, भालुभञ्याङ, निगालपानी लगायतका क्षेत्रमा बाँदरको आतंक निकै छ । यो विगत लामो समयदेखिको समस्या हो । गत वर्षहरुमा पनि नियन्त्रणका प्रयास भएका हुन् । कार्यपालिकाको बैठकमा यो कुरा उठाउँछौं । कसरी व्यवस्थापन गर्न सकिन्छ, छलफल गरेर निचोड निकाल्ने उहाँले बताउनुभयो ।
‘किसानले लगाएको खेती बाँदरले नाश गर्दा किसान मर्कामा छन् । तत्काल किसानलाई क्षतिपूर्ति दिन र बाँदर नियन्त्रण गर्न सक्ने क्षमता वडासँग छैन । तर हामी भन्दा माथिल्लो निकायसँग समन्वय गरी माग राख्नेछौ,’ वडा अध्यक्ष बराइलीले भन्नुभयो ।

Facebook Comments