
धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि १ अर्ब १८ करोड ९७ लाख ०७ हजार ४७७ रुपियाँ ६६ पैसाको बजेट विनियोजन गरेको छ । दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा चालु खर्चतर्फ ८० करोड ४१ लाख ७ हजार ४७७ रुपियाँ ६६ पैसा तथा पुँजिगत खर्चतर्फ ३८ करोड ५६ लाख विनियोजन गरेको नगर उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो ।
दोस्रो नगरसभाले आगामी आर्थिक वर्षको लागि कृषि तथा पशु, उद्योग वाणिज्य, संस्कृति तथा पर्यटन, सहकारी, सामाजिक विकास, स्वास्थ्य, शिक्षा युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र, न्यायिक समिति लगायतका शिर्षकमा बजेट विनियोजन गरेको हो ।
माटो र हावापानीसँग मेल खाने कृषि उपज उत्पादनमा जोड दिदै कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक बनाउने निति अनुसार माटो सुहाउदो कृषिवाली प्रवद्र्धनका लागि ३५ लाख, पशुपन्छीको औषधि निशुल्क उपलब्धको लागि १५ लाख, मेयर उद्यमशिलता विकास कार्यक्रम मार्फत उद्यमशिलता प्रवद्र्धनका लागि ८० लाख, उद्योग वाणिज्य क्षेत्रको प्रवर्धनात्मक कार्यक्रमका लागि १५ लाख, समग्र उद्योग तथा लघु विकासका लागि एक करोड, संस्कृति तथा पर्यटन प्रवर्धनमा १ करोड ३० लाख तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका लागि १० लाख, सहकारी विकासका लागि १५ लाख, सामाजिक विकासतर्फ ८ करोड २७ लाख ३० हजार रकम विनियोजन गरिएको उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो ।

त्यस्तै, नेपाल सरकारले तोकेको निःशुल्क औषधि, औजार उपकरण तथा प्रयोगशाला सामाग्री खरिदका लागि प्रयाप्त रकम विनियोजन गरिएको बताउनुभयो । ‘‘हाम्रो स्वास्थ्य हाम्रै हातमा’’ भन्ने मुल नाराका साथ स्वस्थ मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिदै स्वास्थ्य संस्थालाई प्रविधिमैत्री बनाउन पनि बजेट विनियोजन गरिएको छ । ‘एक वडा एक नमुना विद्यालय’ विकास कार्यक्रम अन्तर्गत विद्यालय सुधारतर्फ २१ लाख, शैक्षिक सुधार गर्न २७ लाख, नीलकण्ठ क्याम्पसका लागि १५ लाख, शिक्षा क्षेत्रको समग्र विकासका लागि संघ र प्रदेश सरकारबाट प्राप्त थप ३ करोड ८५ लाख रुपिया विनियोजन गरिएको छ ।
युवासँग उपप्रमुख कार्यक्रम अन्र्तगत युवा हितका कार्यका लागि १० लाख, खेल सामाग्री सहयोगमा ३६ लाख, लिफ्ट खानेपानी कार्यक्रमका लागि विद्युत महसुलमा ७० प्रतिशत अनुदान दिन २० लाख, फोहोरमैला व्यवस्थापन गर्न २६ लाख, दलित समुदायको सर्वाङ्गिण विकास उत्थान कार्यक्रमका लागि २५ लाख, महिला तथा महिला जनप्रतिनिधि कार्यक्रमलाई १४ लाख, सडक विकास पूर्वाधार क्षेत्रमा संघ, प्रदेश तथा अन्य साझेदार निकाय समपूरक गरी ६ करोड ६० लाख, आर्थिक वर्षमा पूर्वधार विकास तर्फ २८ करोड २० लाख, वातावरण वन सरफाई र विपद क्षेत्रमा १ करोड ५० लाख, एकीकृत घुम्ती शिविरका लागि १४ लाख, सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि १५ लाख, न्यायिक समितिका लागि १५ लाख, आर्थिक विकासतर्फ ३ करोड ६० लाख रुपियाँ बजेट विनियोजन गरिएको उपप्रमुख विश्वकर्माले बताउनुभयो ।

देशकै नमुना नगर बनाउँछौ– नगरप्रमुख ढुंगाना
नीलकण्ठ नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक गर्दै नीलकण्ठ नगरपालिकालाई देशकै नमुना नगरको रुपमा विकसित गरिने नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले बताउनुभएको छ ।
‘दीर्घकालिन सोचका साथ तय गरिएको योजनावद्ध आयोजना र कार्यक्रमलाई निरन्तरता दिदै नीलकण्ठ नगरपालिकालाई देशकै नमुना नगर बनाउने परिकल्पनामा छौं । व्यवस्थित सडक सञ्जाललाई विकासको मूख्य आधारशिला मान्दै नगरपालिकाको सबै वडामा कालोपत्रे गर्ने कामलाई निरन्तरता दिएका छौं ।’ उहाँले भन्नुभयो,–‘तिर्खामूक्त नगर स्थापित गर्न नगरपालिकाले शुरुवात गरिसकेको छ । संघीय खानेपानी आयोजना, नगर लगानी कोष र विभिन्न साझेदारहरुसँग समन्वय गरी वृहत खानेपानी आयोजनाको शुरुवात भएको छ । विभिन्न कार्यक्रम मार्फत गुणस्तरिय शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा पनि नगरपालिकाले योजना बनाएको छ ।’
माटो परिक्षण गरी कृषि पकेट क्षेत्र घोषणा गरी किसानमा हौसला थप्नेछौ । २० वर्षे कृषि रणनितिक योजना अनुसार कृषि क्षेत्रको विकास र प्रवद्र्धन गरिने नगरप्रमुख ढुंगानाले बताए । निर्वाहमूखी कृषिलाई व्यवसायिक कृषिमा रुपान्तरण गरी कृषि उत्पादनलाई जोड दिइनेछ । उहाँले भन्नुभयो,– ‘बाँदर पिडित किसानका लागि वैकल्पिक खेती र पशुपंक्षीपालनमा सहयोग गरिनेछ । नगरबासीहरुमा रोजगारी सिर्जना गर्न एक वडा एक उत्पादनको नीति ल्याइएको छ ।
उद्योग व्यवसाय प्रवद्र्धन गर्न उद्यममैत्री निति अवलम्बन गर्छाैं । युवालाई क्षमता विकास गरी उद्यमशिलतासँग जोड्नेछौ । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, खेलमैत्री तथा बालमैत्री नगर, कला साहित्य, पर्यटकिय क्षेत्रको विकास, फोहोरमैलो व्यवस्थापन तथा विसर्जन लगायतको क्षेत्रमा नगरपालिकाले आगामी आर्थिक वर्षमा जोड दिएको छ ।’