डिभिजन वन कार्यालय धादिङले वनजन्य तथा सौन्दर्यमूलक विरुवाहरु वितरण गर्न सुरु गरेको छ । वर्सेनि निशुल्क रुपमा वितरण गर्दै आएको विरुवा यो वर्ष आज सोमबारदेखि सुरु गरेको हो ।

बाँझो जमिन हराभरा बनाउने, डालेघाँसको प्रयोग बढाउने, बाढीपहिरो नियन्त्रण गर्नेलगायत उद्देश्यसहित निशुल्क विरुवा वितरण गरिएको डिभिजनल वन अधिकृत अजय बिक्रम मानन्धरले बताउनुभयो । यो वर्ष ३६ हजार विरुवा वितरण गर्न लागिएको पनि डिभिजन वन अधिकृत मानन्धरले बताउनुभयो । आज पहिलो दिन १७ हजार विरुवा वितरण गरिएको डिभिजन वन कार्यालय धादिङले जनाएको छ । ‘मानव वस्ती बढेको छ ।

गाउँघरमा जग्गा त्यतिकै बाँझा छन् । त्यसमा विरुवा लगाएर हरियाली बनाउन सकिन्छ । गाईभैंसीलाई घाँस पनि हुन्छ’, मानन्धरले भन्नुभयो– ‘विरुवा हुर्किएपछि वातावरण सफा राख्न मद्दत पुग्नेछ ।’ वनजन्य विरुवातर्फ चिउरी, कटहर, बडहर, तेजपात, टाँकी, बकाईनो, कागती, अमला, निमारो, अम्बा, चाँप र कफी रहेका छन् भने सौन्दर्यमूलकतर्फ म्याग्नोस्टिक, रुद्राक्ष, श्रीखण्ड, धुपी, अशोका, कल्की, कपुर र नीमका विरुवा छन् ।

वन अधिकृत मानन्धरले वन कार्यालयले नर्सरीमा जन्माएर हुर्काएर दिएको बिरूवालाई स्याहार, सम्भार र माया गर्न, मर्न नदिन र राम्ररी हुर्काएर ठूलो बनाउन अनुरोध गरेका छन् । निवेदनका आधारमा व्यक्तिलाई १५ वटासम्म, संघ सस्था र सरकारी कार्यालयहरुको लागि ५० वटासम्म, व्यवसायिक फर्महरुका लागि १०० वटासम्म र कबुलियती तथा सामुदायीक वनहरुलाई क्षेत्र हेरेर २५० वटासम्म विरुवा दिईने डिभिजन वन कार्यालय धादिङका सूचना अधिकारी टंक नारायण श्रेष्ठले जानकारी दिनुभयो।

‘पहिलो प्रायोरिटी सामुदायिक वनलाई दिन्छौं । त्यसपछि व्यवसायिक फर्महरुलाई प्राथमिकता दिइएको छ । विरुवा लिन आउने व्यवसायीहरुलाई नाङ्गा डाडाहरुमा दिर्घकालीन योजना बनाएर रुख रोप्नुका साथै निजी जग्गामा पनि रुख रोप्न वन कार्यालयले आग्रह गरेको छ । विरुवा नसकिएसम्म वितरण कार्य जारी रहने सहायक वन अधिकृत लोकनाथ लम्सालले बताउनुभयो ।

Facebook Comments