धादिङमा असारे धानको उत्पादन घट्ने देखिएको छ । पानी नपरेका कारण समयमै रोपाई हुन नसक्दा उत्पादन घट्ने संकेत देखिएको हो । धादिङ जिल्लामा ११ हजार ५ सय ७६ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्र धादिङले दिएको जानकारी अनुसार धादिङमा यो वर्ष ९६ प्रतिशत रोपाई भएको छ । समयमै पानी नपर्दा र रोपाई ढिलाई हुँदा धान उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताउनुभयो । ज्ञान केन्द्रको तथ्यांक अनुसार ५० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । खोला खेत बाहेक ढिलो गरी रोपाइ भएका टारी खेतहरुमा अघिल्लो वर्षहरुको तुलनामा उत्पादन घट्ने देखिएको छ । विउ छिप्पिसकेपछि रोपाई गरिएकोले पनि उत्पादनमा कमी आउने कृषि प्रसार अधिकृत शर्मा भनाई छ ।

कृषि ज्ञान केन्द्रले ९६ प्रतिशत खेतमा रोपाइ भएको भनेपनि स्थानीय पालिकाहरुले भने एकिन तथ्यांक नै दिन सकेको छैन । नीलकण्ठ नरपालिकामा ८५ प्रतिशत मात्रै धान रोपाइ भएको बताएको छ । खहरे खोला लाग्ने खेतहरु र पखेरा खेतहरुमा रोपाइ हुन नसकेको कृषि प्राविधिकहरुले जानकारी दिएका छन् ।

सिद्दलेक गाउँपालिकामा भने एकिन तथ्यांक नै छैन । मोटामोटी अनुमानको भरमा कृषि ज्ञान केन्द्रमा रिपोटिङ गरिएको सिद्दलेक गाउँपालिका कृषि शाखाका प्रमुख कोमल प्रसाद जोशीले बताउनुभयो । कति जमिनमा धान खेती हुन्छ, कति उत्पादन हुन्छ भन्ने कुरा गाउँपालिकासँग कुनै तथ्यांक नभएको र त्यसरी रिपोर्टिङ गरेर बस्ने फुर्सद नभएको जोशीले प्रतिकृया दिनुभयो ।

जिल्लाको नीलकण्ठ नगरपालीका, सहित साविकको सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा गाविस धान खेती गर्ने पकेट क्षेत्र मानिदै आएको छ । धादिङमा साबीत्री, मकवानपुरे, सुख्खा १, राधा ४, राम, हर्दिनाथ १, हर्दिनाथ २, खुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान खेती गरिदै आएको छ ।

Facebook Comments