
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षाशास्त्र संकायले संचालन गर्ने ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन बिआईसिटिई धादिङको नीलकण्ठ क्याम्पसले नै पढाउन थालेको छ ।
नयाँ शैक्षिक वर्षको लागि भर्ना खुलेको र भर्ना कार्यक्रम सम्वन्धी विस्तृत विवरण पत्रकार सम्मेलन गरेर क्याम्पसले जानकारी गराएको हो । बिआईसिटिईमा भर्ना हुने विद्यार्थीले भदौ १ देखि असोज ४ गतेसम्म आवेदन फाराम बुझाउनु पर्नेछ । विलम्ब शुल्क बुझाएर असोज १२ सम्म विद्यार्थीले फारम भर्न सक्छन् ।
असोज २२ गते दिउसो १ बजे प्रवेश परीक्षा हुने र मंसिर १ गतेदेखि पढाइ सुरु हुने क्याम्पसले जानकारी दिएको छ । विद्यार्थीले अनलाइनमार्फत प्रवेश परीक्षाको फारम भर्नुपर्ने भएपनि नीलकण्ठ क्याम्पसले भने विद्यार्थीहरुसंग फाराम संकलन गरेर समेत प्रवेश परीक्षाको लागि फारम भरिदिने बिआईसिटिइ कार्यक्रमका संयोजक एवंम सहायक क्याम्पस प्रमुख डा.मुरारी अधिकारीले जानकारी दिनुभयो ।
कक्षा ११र १२ मा जुनै विषय लिएका विद्यार्थीले पनि बिआईसिटिइ विषयमा भर्ना हुने पाउने र समग्रमा उनीहरूले न्यूनतम २.० जिपिएल्याएको हुनुपर्ने क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।
बजारमा प्राविधिक जनशक्तिको माग उच्चभएको र यो विषय पढ्नेहरुको रोजगारीको सुनिश्चितता हुने भएकाले पढाइ सुरु गरिएको शर्माले बताउनुभयो । यो विषय पढेको मान्छे बेरोजगार भएर जागिरको खोजीमा देश विदेश भौतारिन नपर्ने उहाँको भनाइ छ ।
२०५७ सालमा स्थापना भएको क्याम्पसमा यसअघि स्नातक तहमा विएड विविएस र विए तथा स्नातकोत्तर एम एड र एमविएसको पढाइ भइरहेको छ । ‘हामीले कक्षामा पढाएर पास गर्ने मात्र नभइ बजारले खोजेको, यहाँबाट पास भएर गएपछि बजारमा सजिलै विक्ने, प्राविधिक जनशक्ती उत्पादनगर्ने कोर्षहरु पढाउन पर्छ भनेर यो विषयथप गरेका हौं।’ क्याम्पस प्रमुख शर्माले भन्नुभयो ।
बिआईसिटिइ विषयमा २ वर्षअघि देखि नै पढाइ सुरु गरिएको भएपनि धेरै ठाउँमा यसको प्रचार हुन नसकेको हो कि भनेर पत्रकार सम्मेलन गरी भर्ना कार्यक्रमको बारेमा जानकारी गराइएको क्याम्पस प्रशासनले जनाएको छ । हाल त्रिविको ९ आंगिक र १९ सामुदायिक क्याम्पस गरेर कूल २८ क्याम्पसमा बीआईसीटीई पठनपाठन हुन्छ । हालसम्म कुनै पनि निजी कलेजले यो कोर्ष सञ्चालन गरेको छैन ।
के हो बीआईसीटीई ?
सूचना तथा सञ्चार प्रविधिमा दक्षजनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ त्रिवि शिक्षा शास्त्र सङ्कायले सन् २०१० (विसं. २०६७) देखि तीनवर्षे बीएड आईसीटी (ब्याचलर अफ एजुकेसन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी) सञ्चालनमा ल्याएको थियो । त्यो समयमा देशभरका पाँच आङ्गिक क्याम्पसहरूमा यो कोर्ष पढाउन सुरु गरिएको थियो ।
एक वर्षपछि आठ सामुदायिक क्याम्पसहरूमा यो कोर्ष थपियो । सन् २०१५ मा त्रिविले कोर्षलाई परिमार्जन गर्दै चार वर्षे (९ सेमेस्टर) बनायो । हाल यो कोर्ष देशभरका २८ क्याम्पसमा सञ्चालनमा छ । समग्रमा भन्दा बीएड आईसीटीको परिमार्जित कोर्ष नै बीआईसीटीई हो । तर अहिले यी दुवै कोर्ष सञ्चालनमा छन् ।
त्यस्तै नयाँ शैक्षिक वर्षको लागि वि.एड. विविएस र विए (सामाजिककार्य) तर्फको कक्षा संचालन भने असोज १६ गतेदेखि नै सुरु हुने क्याम्पसले जनाएको छ । भर्ना कार्यक्रम सुरु गरिसकिएको र असोजको १४ गते अभिमुखीकरण कार्यक्रम संचालन गरेर १६ गतेदेखि पढाइ सुरु गरिने क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।
पैसाकै कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनुपर्ने अवस्था नआओस भनेर गरिव, टुहुरा, निमुखा, द्वन्दपिडित, दलित, जनजाति, महिलालक्षित छात्रबृत्तिको ब्यवस्था पनि गरिएको क्याम्पस प्रमुख शर्माले जानकारी दिनुभयो ।