धादिङ घोषणापत्र जारी  गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय समितिको  पूर्ण बैठक सकिएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालले आइतबार पत्रकार सम्मेलन मार्फत धादिङ घोषणापत्रको बारेमा जानकारी गराएको हो । राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडीले राष्ट्रिय दलित पत्रकार संघ नेपाल श्रमजीवी दलित पत्रकारको हकहितमा मात्र नभई लाखौ दलित समुदायहरुको समस्या तथा सवाल उठाउदै आएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल साझा संगठन भएको बताउनुभयो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडीको अध्यक्षतामा बसेको बैठकले वार्षिक साधारणसभा आगामी फागुन २८ र २९ गते काठमाडौंमा गर्ने लगायतका अन्य महत्वपुर्ण निर्णयहरु समेत गरेको छ । बैठकले संघका जिल्ला तथा प्रदेश कमिटीका बैठकहरु बस्ने र संघलाई तत्काल थप प्रभावकारी तथा क्रियाशिल बनाउन सिंगो टीम संगठित रुपमा लाग्ने आन्तरिक निर्णयहरु गरेको छ ।

यस्तो छ ६ बुँदे धादिङ घोषणापत्र

१ काभ्रे पाँचखालका अजित मिजारको अन्तरजातिय विवाह गरेकै कारण २०७३ साल असार २९ गते रहस्यमय हत्या गरिएको र उनको शव ८ बर्षदेखि टिचिङ अस्पताल महाराजगञ्ज काठमाडौमा अझै सम्म राखिएकाले सो घटनाको न्यायिक छानविन र अन्त्येष्टीका लागि विशेष पहल गर्ने ।

२ सरकारी तथा गैरसरकारी निकायमा दलितहरुको मुद्धा उठाउने तथा भौतिक सहभागीता गराउने विषयमा विशेष जोड दिने ।

३ दलित पत्रकारहरुबाट संचालित सञ्चार माध्यमहरुलाई राज्यद्धारा कर छुट गर्ने व्यवस्था गर्नुपर्ने तथा पत्रपत्रिका वर्गीकरण गर्दा दलित पत्रकारबाट संचालित पत्रपत्रिका तथा सञ्चार संस्थाहरुको वर्गीकरणमा विशेष सहुलियत दिनुपर्ने । साथै सरकारी सञ्चार माध्यम, प्रेस काउन्सिल लगायतका नीतिगत तहमा दलित समुदायका सञ्चारकर्मीको प्रतिनिधित्व अनिवार्य गराइनुपर्ने ।

४ नेपाल पत्रकार महासंघ तथा राज्यद्धारा संचालित सञ्चार संस्थान तथा निकायहरुमा दलितहरुको पूर्ण समानुपातिक सहभागिता गराउनुपर्ने ।

५ माथि उल्लेखित सबै मागहरु तथा मुद्धाहरु पूरा गर्नका लागि प्रधानमन्त्री, सभामुख तथा सरकारी निकायको उच्च तहमा भेटघाट तथा वार्ता सम्वाद गर्ने ।

६ धादिङको पर्यटन तथा सीप अभिवृद्धि तथा प्रवद्र्धनमा सञ्चार क्षेत्रबाट आवाज उठाउने । साथै बैठक सम्पन्न गर्न आवश्यक सहयोग गर्ने निलकण्ठ नगरपालिका, जनप्रतिनिधिहरु, स्थानीय दलित अधिकारकर्मी, सञ्चारकर्मी साथीहरुलाई विषेश धन्यवाद ज्ञापन गर्दछौं ।

Facebook Comments