फागुन ४
इजरायल – बौद्व धर्मवालम्विहरुले मंजुश्री संवत २८६१, डुल ल्हो, सा पुख्रि ल्हो (सर्प वर्ग) लाई एक विशेष राष्ट्रिय पर्वको साथै मौलिक, ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा मनाउने गर्दछन् । यसै अवसरमा नेपाल तामाङ घेदुङ, इजरायलले मंजुश्री संवत २८६१, डुल ल्हो, सा पुख्रि ल्हो (सर्प वर्ग) कोे पावन अवसरमा सोनाम ल्होछार सांस्कृतिक साँझ — २०२५ भव्य रुपमा मनाएको छ । १४ फेब्रुअरी शुक्रबार साँझ याद्खारुचिम –१५ तेलअभिवमा बौद्ध धर्म विधिद्धारा पुजापाठ, शुभकामना आदान — प्रदान सहित विविध सांस्कृतिक कार्यक्रम गरि मनाएको हो । कार्यक्रममा विशेष गरि तामाङ गायक तथा कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा तामाङ समुदायको प्रचलित र महत्वपूर्ण नाच म्हेन्दोमाया र तामाङ सेलोमा सहभागीहरु रमेका थिए । “तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपि, संस्कार र संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं, ताम्सालिङ प्राप्तिको लागि एक जुट होऔं’’ भन्ने मुल नाराको साथ सोनाम ल्होछार सांस्कृतिक साँझ — २०२५ मनाएको हो ।



नेपाल तामाङ घेदुङ इजरायलका अध्यक्ष मदन कुमार तामाङ नेगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली दुतावास इजरायलका महामहिम राजदुत प्रा.धन प्रसाद पण्डित प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल आदिवासि जनजाति महासंघ इजरायलकी अध्यक्ष मुनु श्रेष्ठ र नेपाल तामाङ घेदुङ इजरायलका संरक्षक परिषदका सदस्य तथा संघीय परिषदका केन्द्रिय सदस्य सुन्दर सिंह योञ्जन तामाङको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा इजरायलमा क्रियाशिल विभिन्न राजनीतिक, सामाजिक, धार्मिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी लगायत इजरायलमा रहेका नेपाली र नेपाली भाषीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसका साथै कार्यक्रमको अबसरमा नेपाल तामाङ घेदुङ इजरायलले संस्थालाइ यस स्थान सम्म ल्याउनको लागि निरन्तर रुपमा गरेको योगदान र सहयोगको उच्च कदर गर्दै संस्थाका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक परिषदका सदस्यहरु शंकर गोले तामाङ र नानीमाया योञ्जन तामाङलाइ दोसल्ला सहित सम्मान पत्रद्धारा सम्मान गरेको थियो । कार्यक्रमको अबसरमा नेपाल तामाङ घेदुङ इजरायलले नेपालको कुनै पनि स्थानमा बसोबास गर्ने तामाङ समुदायका गरिब तथा जेहेन्दार बालबालिकाहरु शिक्षाबाट वञ्चित हुन नपरोस भनि स्थापित तामाङ शैक्षिक कोष वृद्धिको लागि आर्थिक सहयोग गर्नुहुने नेफिन इजरायलका अध्यक्ष मनु श्रेष्ठ र बिमला श्रेष्ठ, तमू समाज इजरायलका सह–सचिव खोप्स तमू, सदस्य प्रेम तमूलाइ कदर पत्रद्धारा सम्मान गरिएको थियो ।


इजरायललाइ आफ्नो कर्मभूमी बनाई विभिन्न पेशामा रहेका तामाङ समुदायले तामाङ समुदायको राष्ट्रिय मौलिक धर्म, भाषा, लिपि, भेषभुषा, कला संस्कृति र परम्परालाइ संरक्षण एवं सम्वद्र्धन गर्ने उदेश्यले सन् २०१० मा यस संस्थाको स्थापना गरेका थिए ।



