मंसिर २६
इजरायल – तमू समाज इजरायलले यहि २ जनवरी, २०२६ मा तमू समुदायको महान तथा राष्ट्रिय पर्व (त ल्हो) तमू ल्होसार २०८२ भव्य रुपमा मनाउने तयारी गरेको छ । (सप्रि ल्हो) सर्प वर्गको विदाई तथा (त ल्हो ) घोडा वर्गको स्वागत गर्दै ल्होसार मनाउन लागिएको हो । हरेक वर्ष पौष १५ गतेबाट तमू गुरुङ समुदायको नयाँ वर्ष अर्थात वर्ग सुरु हुन्छ । ल्हो को अर्थ वर्ग र छार को अर्थ नयाँ भन्ने हो । नयाँ वर्गको स्वागत र पूरानो वर्गको बिदाईको अवसरमा यो पर्वलाइ विशेष र महत्वपूर्ण चाडको रुपमा तमू समुदायले मनाउने गर्दछन् ।

अघिल्लो वर्षहरु जस्तै यस वर्ष पनि तमू समाज इजरायलले इजरायलको मुख्य शहर तेलअभिवस्थित यादखरुचिम स्टेट नंम्बर – १५ मा ल्होसार मनाउने तयारी गरेको छ । ल्होसार कार्यक्रममा शुभकामना आदान–प्रदान, (स्योकैं) वनभोज, तमू समुदायको मौलिक कला र संस्कृति झल्किने घाँटु, सोरठी, साथमा अन्य विविध सांस्कृतिक प्रस्तुतीहरु रहने तमू समाज इजरायलका प्रथम उपाध्यक्ष एवं ल्होसार आयोजक समितिका संयोजक गायत्री तमूस्यो (गया) ले जानकारी दिनुभयो । ल्होसार कार्यक्रममा सहभागी भई कार्यक्रमलाइ भव्य रुपमा सफल बनाउन सहयोग गरिदिनुहुन इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली तथा नेपाली भाषीहरुलाइ तमू समाज इजरायलले अनुरोध गरेको छ । साथै राष्ट्रिय पर्व तमू त ल्हो ल्होसार शुभकामना आदान – प्रदान स्योकैं तथा सांस्कृतिक कार्यक्रममा सहभागिताको लागि २ सय ५० इजरायली सेक्केल प्रवेश शुल्क निर्धारण गरिएको छ ।

कार्यक्रममा नेपाली दुतावास इजरायलका राजदुत धन प्रसाद पण्डितको प्रमुख आतिथ्यता रहनेछ भने नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष सुर्य राना मगरको विशेष आतिथ्यता रहनेछ । साथै इजरायलमा स्थापित विभिन्न जातिय, धार्मिक र सामुदायिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने आयोजक संस्थाले जनाएको छ ।

तमू समुदायले ल्होसारको अघिल्लो साँझदेखि नै यस पर्वलाइ मनाउन सुरू गर्दछन् । साँझ पूजापाठ, नाचगान गरी मध्य रातमा नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानैदेखि ढोग,भेट, शुभकामना आदान–प्रदान गर्दै आफ्ना नाता कुटुम्बलाई बोलाएर मिठो मसिनो खानेकुराहरु खुवाएर धुमधामका साथ मनाईन्छ । ल्होसारको दिन गुरूङ जातिहरु आफ्नै मौलिक र सांस्कृतिक शैलीका भेषभुषाहरु लगाउँछन् । जस्तै : शिरबन्दी,मखमली चोली, घलेक, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो, भाङ्ग्रो, र कछाड बाँध्छन् ।

तमु समुदायले जन्मदेखि मृत्यु सम्म गरिने आफ्नै प्राचिन, मौलिक संस्कार र परम्परा छ । तमू जातीको पुर्खौली धर्म, बोन धर्म हो । प्येताँ ल्हुताँ (शास्त्र तथा संस्कृति) अनुसार तमुहरूको मुल चाडपर्वहरूमा ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), (ट्हो त्हेँ) गाउँ बार्ने, खेकु माँङी थेब त्ह्ये (बैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), र ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) हुन् ।

विभिन्न ऐतिहासिक र पौराणिक तथ्य र किम्वदन्तिका अनुसार तमू गुरुङ जातिको मुख्य थाक थलो नेपालको अन्नपूर्ण, मनास्लु हिमाल र पहाडको दक्षिणी क्षेत्र हो । विस्तारै यो समुदाय नेपालको पश्चिम गण्डक क्षेत्र र पूर्वी पहाडका धेरै ठाउँहरुमा समेत छरिएर रहेका छन् ।

तमू समाज इजरायलले स्थापना कालदेखि आफ्नो तमू समुदायको मौलिक भाषा, कला, संस्कार, संस्कृतिको विकास र प्रवद्र्धन गर्दै आफ्नो पहिचान तथा आत्मनिर्णयको अधिकार प्राप्तिको लागि समग्र आदिवासी जनजातिको अभियान र आन्दोलनमा पैरवी र सहयोग गर्दै आएको छ । यसका साथै यस समाजले प्रवासमा रहेर पनि आफ्नो देश र समाजका लागि विभिन्न समयमा आइपर्ने प्राकृतिक प्रकोप र विपत्तिहरुमा सामाजिक तथा आर्थिक साथ र सहयोगहरु गर्दै आएको छ । इजरायलमा रहेका विभिन्न जातिय तथा सामाजिक संघ – संस्थाहरु मध्ये एक सक्रिय संस्थाको रुपमा तमू समाज इजरायल स्थापित रहेको छ ।

“प्ये म्यस्याँ छ्याँ म्हमु, छ्याँ म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात शास्त्र हराय संस्कार हराउछ, संस्कार हराय संस्कृति हराउछ ,संस्कृति हराय मानव जातिको अस्तित्व नै हराउँछ ” भन्ने नारालाइ आत्मसाथ गर्दै प्रवासी भूमी इजरायलमा सन् २००६ मा तमू समाज इजरायलको स्थापना भएको थियो ।

 

Facebook Comments