
कार्तिक १९, काठमाण्डौं ।
दोश्रो चरणको निर्वाचन कार्यतालिका अनुसार आईतबार उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे फिर्ता लिन सक्नेछन् । दोश्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनीधि र प्रदेशसभा निर्वाचनको कार्यतालिका अनुसार आईतबार दिउँसो १ बजेसम्म उम्मेदवारहरुलाई नाम फिर्ता लिन समय दिइएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । त्यसपछि आईतबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गरिने शर्माले बताउनुभयो । औपचारिकरुपमा चुनाव चिन्ह प्राप्त गरेपछि उम्मेदवारले चुनावी प्रचारप्रसारका कार्यक्रम गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि बिहीबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए ।