
मङ्सिर २१ ।
प्रदेश नम्बर ३ को स्थायी राजधानी तोक्ने विषय पेचिलो बन्दै गएको छ । अस्थायी राजधानी हेटौंडाबाट राजधानी अन्तै सार्ने कि नसार्ने भनेर प्रदेश सांसदहरु दूई कित्तामा बाँडिएका छन् । अब मतदानबाटै राजधानीको विषय टुंगो लगाउन दलहरु सहमत भएको कुरा पनि बाहिर आएको छ ।
सहमतिबाट राजधानीको विषय टुङ्ग्याउन सभामुख सानुकुमार श्रेष्ठले सोमबार बोलाएको सर्वदलिय बैठकले कुनै निर्णय गर्न सकेन । बरु संसदिय प्रक्रियाबाटै अगाडी बढ्न दलहरु सहमत भए । तर स्थायी राजधानीको टुंगो बर्खे अधिवेशनबाटै लाग्छ वा लाग्दैन, सभामुख श्रेष्ठ समेत अन्यौलमा हुनुहुन्छ । स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले अस्थायी राजधानी रहेको हेटौंडासहित, काभ्रे, नुवाकोट, भक्तपुर र चितवन स्थायी राजधानीका लागि उपयुक्त हुने सुझावसहितको प्रतिवेदन प्रदेशसभालाई बुझाएको छ ।
तर सांसदहरु सके आफ्नै नभए छिमेकी जिल्लालाई राजधानी बनाउने प्रस्ताव बोकेर हिंडिरहेका छन् । नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद हिरानाथ खतिवडा आफूहरु नुवाकोटमै प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने पक्षमा रहेको बताउनुहुन्छ । काभ्रे र आसपास जिल्लाका सांसद स्थायी राजधानी काभ्रे नै हुनुपर्ने अडानमा छन् ।
कतिपयले सिन्धुली र चितवनलाई पनि केन्द्रमा राखेर स्थायी राजधानीको विषय टुङ्ग्याउनुपर्ने बताएका छन् । तर मकवानपुरका सांसद हरेक हिसाबले राजधानीका लागि उपयुक्त हेटौंडा भएको दाबी गरिरहेका छन् । मकवानुपर क्षेत्र नम्बर १, क का सांसद प्रेमबहादुर पुलामी हरेक हिसाबले प्रदेश नम्बर ३ को राजधानी हेटौडा हुनु उपयुक्त हुने बताउनुहुन्छ ।
सुरक्षाका दृष्टिले पनि स्थायी राजधानी हेटौडा नै उपयुक्त हुने उहाँको तर्क छ । यदि मतदान भएमा समितिले सिफारिस गरेको ठाउँमध्ये कुनै एक ठाउँमा सांसदहरुले मतदान गर्नुपर्नेछ । संख्यात्मक जोडघटाउ गर्दा एकसय ९ सांसदमध्ये ५३ जना काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका छन् । स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिको काममाथि नै प्रश्न उठाउँदै उच्च अदालतमा परेको मुद्दा, प्रदेशको स्थायी राजधानी टुङ्ग्याउन ढिलाई हुनुको अर्को कारण बनेको छ ।
राजधानी आफ्नो अनुकुल तान्ने प्रदेश सांसदको प्रतिष्ठाको लडाईमा नागरिकको सहजताको पक्ष भने ओझेलमा परेको छ । प्रदेश नम्बर १, २ र ५ ले पनि स्थायी राजधानीको विषय टुङ्ग्याउन सकेका छैनन् ।