
पुस १०,काठमाडौं ।
गत साता एकतर्फी रुपमा सम्झौता अनुसारको ठेक्का प्रकृयालाई तोडेर काम नगर्ने पत्र लेखि उम्कीन खोजेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सिएमसीले पुन सरकारलाई पत्र लेखेर काममा फर्किने प्रतिवद्धता जनाएको छ । सिएमसीले गत शुक्रबार मेलम्ची खानेपानी बोर्डलाई पत्र लेख्दै यसअघि बुझाएको ‘लेटर अफ टर्मिनेसन’ (ठेक्का तोडिएको पत्र) फिर्ता लिएर काममा फर्किने प्रतिबद्धता जनाएको खानेपानी मन्त्रालयका एक अधिकारीले बताउनुभयो । मेलम्ची खानेपानी आयोजना समयमा नै सम्पन्न नहुँदा काठमाडौ उपत्यकाबासीहरु पीउने पानीको समस्याबाट मुक्त हुन सकेको छैन् । ठेकेदार कम्पनीले तोकिएकै समयमा आयोजना सम्पन्न गर्न नसकेका कारण पटक–पटक आयोजना सम्पन्न गर्नको लागि म्याद थप गरिएको छ । खानेपानी मन्त्री विना मगरले मन्त्री भएपछी असोज महिना सम्म मेलम्चीको पानी काठमाडौं आउने बताए पनि आज सम्म यस आयोजनाले काम सम्पन्न गर्न नसक्दा पानी आउन सकेको छैन ।