पौष १५ धादिङ ।

डाँडाको बस्ति, बर्षाैदेखिको खानेपानी समस्या, तर अहिले घर घरमा धारा धारामा पानी आउने विश्वासले छाएको खुषी, दैनिकी र जीवनशैली बदल्ने सुरमा श्यामैडाँडाबासी । त्यसैले, खानेपानी आयोजना निर्माण पश्चातको दिगो ब्यबस्थापन गर्न उनीहरु तालिम लिदै योजनाबद्ध रुपमा लागि परेका छन् ।

वर्षाैपछि खानेपानी समस्याको भूमरीमा आत्तिएका उनीहरु घरको धारामा कहिले पानी झर्ला र सुखको सास फेरुँला भन्ने पर्खाइमा छन् । एक गाग्री पानी लिन घण्टौ समय लाग्नु । घर धन्दा तथा खेतवारीको काम गर्न भ्याइ नभ्याइको दौडधुप जीन्दगी साच्चै दुःखले वितेको शुसिला भण्डारी बताउनुहुन्छ । पानीको समस्याले दिनमा भोक र रातमा निदाउन नसकेको उहाँको भनाइ छ । त्यस्तै, घरमा पानी आउने अन्तिम तयारी हुदाँ चुनौति र अवसर दुवै रहेको सरस्वती श्रेष्ठ बताउनुहुन्छ । कसरी पानीको व्यवस्थापन गर्ने, कस्ता समस्या आउछन् र के गर्नु पर्छ भन्ने तालिम लिऔं, अव भने घरको धारामा पानी झरेपछि फेरी सुक्न दिने छैनौं चाहिएको बेला पानीको प्रयोग र सदुपयोगमा हामी चुक्दैनौं उहाँले बताउनुभयो ।

खानेपानी उपभोक्ता समिति, पानी सुरक्षा टोली र ग्रामीण मर्मत सम्भार कार्यकर्ताहरुले दिगो खानेपानी प्रणाली, काम, कर्तव्य, अधिकार, मर्मत कोष, खानेपानी हेरालु तथा मर्मत औजार, उपभोक्ता समितिको सस्थागत बिकास, खानेपानी उपभोक्ताको समन्वय र सहकार्य, खानेपानी प्रणाली निर्देशिका सहित कार्य योजना तयार गरेको छ । कार्य योजना अनुरुप काम गर्ने र खानेपानी गाउँमा ल्याइएसँगै गाउँलाई अझै सुन्दर बनाउने अध्यक्ष रामजी श्रेष्ठले बताउनुभयो ।

गजुरी गाउँ पालिका वडा नंं ६ मा भएको कार्यशाला पश्चात योजना तयार गरिएको खानेपानी समितिका सचिव दुर्गा न्यौपानेले बताउनुभयो । प्रयास नेपाल धादिङद्धारा अक्सफामको साझेदारीमा संचालित पुर्णिमा कार्यक्रम अन्तरगत खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तथा योजनाको दिगोपनको लागि कार्यशाला संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

तालिममा कार्यक्रमका टीम लिडर दिनेश बज्राचार्य संचारकर्मी, बोर्ड सदस्य लगायतको उपस्थिति रहेको थियोे । गजुरी गाउँपालिकासँगको सहकार्यमा श्यामैडाडा खानेपानी योजना गजुरी गाउँपालिका वडा नं ६ र ७ का ३२६ घरधुरीमा धारा जडान सहित खानेपानी योजना निर्माण पश्चातको दिगो व्यवस्थापन सम्बन्धि तालिम संचालन भएको प्रयास नेपाल धादिङका प्राविधिक धिरज भण्डारीले बताउनु भयो ।

 

Facebook Comments